हामी बीच कुनै मतभेद छैन, एकताबद्द छाैं -एमाले अछामका नेताहरू

टेक बहादुर थापा । नेकपा (एमाले) अछामका नेताहरूले आफूहरू बीचमा कुनैपनि किसिमको मतभेद नभएको दाबी गरेका छन् । अछाममा पार्टीलाई थप एकताबद्ध बनाएर लैजानु अहिलेको आवश्यकता भएकाेले पार्टीका गतिविधिमा संलग्न हुने भनाइ रहेको उल्लेख गर्नुभएकाे छ । अधिवेशन सकिसँगै पार्टीलाइ थप सुदृढ बनाएर लैजाने प्रतिबद्धता गरेका बताइएकाे छ । पार्टीलाई चौतर्फी आक्रमण भईरहेको बेलामा फुटेर भन्दा पनि जुटेर जनताका केन्द्रित हुने शीर्ष नेताहरूको जोड रहेको थियो
एमाले अछामको ९ औ जिल्ला अधिवेशनबाट निर्वाचित नयाँ कमिटीको सपथ ग्रहण कार्यक्रममा बोल्ने नेताहरूले ठूलो पार्टीमा संगठन हाक्ने थुप्रै योग्य नेताहरू भएपनि सहमतिका आधारमा नेतृत्व चयन गरिएकाले कुनैपनि किसिमको प्रतिशोध नराखिएको भनाइ राखेका छन् । सपथ ग्रहण कार्यक्रममा बोल्दै एमाले अछामका निवर्तमान अध्यक्ष चन्द्र बहादुर बोहराले पुनः एक पटक पार्टीको नेतृत्व हाक्ने चाहाना हुँदाहुँदै पनि नेतृत्वले सहमतिको आधारमा नयाँ कमिटी चयन गर्ने बताएपछि आफू सहमतिको बाधक नबनेको बताउनुभयो ।
पार्टी भित्र व्यक्ति गौण कुरा हो भन्दै निवर्तमान अध्यक्ष बोहराले अब अछाममा एमालेलाई कसरी बलियो बनाउन सकिन्छ भन्नेतर्फ आफ्नो ध्यान केन्द्रित हुने उहाँको भनाइ छ । आफू नेतृत्वमा हुदा पार्टी भित्र थुप्रै किसिमका कठिनाईहरू आइपरेको भन्दै अध्यक्ष बोहराले ति सबै चुनौतीको सामना गर्दै पार्टी जोगाएर अघि बढेको बताउनुभयो । पार्टी निकै अफ्ट्यारो भएको बेला आफूले नेतृत्व गरेको र त्यो अवस्था अहिले नरहेकाले अब संगठनलाई थप मजबुत बनाएर लैजानु अहिलेको आवश्यकता रहेको बताउनुभयो । निवर्तमान अध्यक्ष बोहराले आफू नयाँ कमिटीलाइ जस्तोसुकै अवस्थामा पनि सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।
सोही अवसरमा बोल्दै एमालेका पूर्व प्रदेश कमिटी सदस्य एवम्अध्यक्षका आकांक्षी बम बहादुर बिसीले राजनीतिक यात्रामा आफू कहिले पनि विचलित नहुने बताउनुभयो । राजनीतिमा यस्ता चुनौती आइरहने भएकाले आफू थप सशक्त भएर अघि बढ्ने बताउनुभयो । निकै भावुक मोडमा देखिनु भएका नेता विसीले अछाम जिल्लाको कम्युनिस्ट आन्दोलनमा आफ्नो कुनैपनि नेताको भन्दा कम योगदान नभएको भन्दै अछाम जिल्लाको एमालेको संगठनलाई थप बलियो बनाउन सधैं साथ र सहयोग रहने बताउनुभएको थियोे । ‘नेतृत्वले आफूलाई अहिले जिम्मेवारी दिन्छन् कि भन्ने आश थियो, सोही ढंगले तयारीमा पनी गरेको थिए तर भएन’ बिसीले भन्नुभयो । पार्टीले जिम्मेवारी दिएको खण्डमा कुशलतापूर्वक जिम्मेवारी निर्वाह गर्न तयार रहेको बताउनुभयो ।
सपथग्रहणपछि प्रतिबद्धता मन्तव्य राख्दै एमाले अछामका नव निर्वाचित अध्यक्ष शिव प्रसाद उपाध्यायले आफूलाई सर्वसम्मत बनाउन भूमिका खेल्ने सबै नेता तथा कार्यकर्तालाई धन्यवाद दिनुभएको छ । पार्टी एक व्यक्तिको पहल कमदमीले मात्रै नबन्ने भएकाले यो अभियानमा आफूलाई सबैको साथ र सहयोग रहने विश्वाश व्यक्त गर्नुभएको छ । अछाम जिल्लामा अहिले एमाले पार्टी विशेष परिस्थितिमा रहेकाले यो बेला केही चुनौती देखिएको हुँदा यसलाई सामान गर्न आफू तयार रहेको बताउनुभयो । अहिले मूल नेतृत्वबाट केही नेता तथा कार्यकर्ताहरु अन्य पार्टीमा जोडिएको भन्दै अध्यक्ष उपाध्यायले बाटो बिराएर गएकाहरुलाई मूल नेतृत्वमा फर्काउन आफ्नो विशेष भूमिका रहने अध्यक्ष उपाध्यायको भनाई छ । पुराना नेताहरुको अनुभव र युवाहरुको सृजनशिलतालाई प्रयोग गरेर एकताबद्ध एमाले बनाउने आफ्नो योजना रहेको बताउनुभयो ।
बाहिर एमाले अछामले पेलेरै नयाँ कमिटीका पदाधिकारीको नाम घोषण गरियो भन्ने हल्ला फैलाईएपनी सबै नेता र आकांक्षीहरुसंगको समन्वयमा समितिका पदाधिकारीको नाम घोषण गरिएको नेताहरुले दाबी गरेका छन् । बाहिर व्यक्तिले गरेको हल्ला र भ्रम जस्तो पार्टीमा नभएकाे नेताहरूकाे भनाइ रहेकाे छ । मंगलबार बेलुकी भएको सपथ ग्रहण कार्यक्रममा एमाले अछामका निर्वतमान अध्यक्ष एवम् अध्यक्षका आकांक्षी चन्द्र बहादुर बोहरा, उपाध्यक्ष बल बहादुर कुँवर, सचिव भीमबहादुर रावल, उपसचिव डम्बर बिसी सपथग्रहण अवधिभर कार्यक्रममा बसेर नयाँ कमिटीलाई अबिर, खादा लगाएर बधाई तथा शुभकामना दिएका थिए ।
सपथ ग्रहण कार्यक्रममा पार्टीका केन्द्रिय कमिटी सदस्य तथा अछाम जिल्ला इन्चार्ज झपटबहादुर बोहरा, केन्द्रिय कमिटी सदस्य एवम् क्षेत्र न २ का इन्चार्ज यज्ञ बहादुर बोगटी, केन्द्रीय कमिटी सदस्य एवम् क्षेत्र न १ का इन्चार्ज कमल तिमिल्सेना, प्रदेश अध्यक्ष कृष्ण प्रसाद जैसी लगायतको नेता कार्यकर्ता र जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो ।