को हुन् सुहाङ नेम्वाङ ?
कोकिला ढकाल
इलाम, वैशाख १८ गते । बुवा सुवासचन्द्र नेम्वाङ र आमा विशाल नेम्वाङका कान्छा छोराका रुपमा २०४६ फागुन ६ गते काठमाडौंमा जन्मिनु भएका सुहाङ नेम्वाङ अहिले इलाम–२ बाट प्रतिनिधिसभा सदस्यका रुपमा विजयी हुनु भएको छ ।
ग्यालेक्सी पब्लिक स्कुल काठमाडौंमा नर्सरी कक्षाबाट आफ्नो अध्ययन सुरु गर्नुभएका सुहाङले जगत मन्दिरबाट एसएलसी उत्तीर्ण गर्नुभयो । ज्ञानोदय बालबाटिकाबाट कक्षा १२ सम्मको अध्ययन पुरा गरेर अढाइ वर्षका लागि अष्ट्रेलिया जानु भएका सुहाङ कानून विषय अध्ययनका लागि पुनः नेपाल फर्कनु भयो । ‘काठमाडौं स्कूल अफ ल’ मा बीएएलएलबीको पढाइ शुरु गर्नुभयो । बीएएलएलबीको पढाइ सके लगतै एलएलएम अध्ययन पुरा गरेपनि समय अभावले थेसिस बाँकी रहेको छ ।
आफूलाई जति आवश्यक छ त्यतिमात्र पढ्न मन पराउने सुहाङको खेलकुदमा लगाव भने निकै राम्रो रहेको छ । स्कूले जीवनमा धेरै जसो होस्टलमै जीवन बिताएका सुहाङले अष्ट्रेलियाबाट फर्किएपछि कलेजमा भएका खेलकुद प्रतियोगिताहरुमा सहभागी भइरहने सुहाङले बुवा सुवासको सल्लाह अनुसार मेची डि स्पोर्टिङ क्लब खोलेको बताउनु हुन्छ । खेलकुद बुवाको पनि सपना थियो, सुहाङलाई खेलक्षेत्रको विकासमा म लाग्नु पर्छ भन्ने कुराले सधैं प्रेरित गरेको छ ।
बुवाले कहिले पनि आफूलाई पार्टीको काममा नलगाउने र आफ्नो दबाबमा सरकारी जागीर नखुवाउने आफैं सक्षम बन्नु पर्छ भन्ने गरेकाले आफूले कहिले पनि बुवाको शक्तिमा आफू नलागेको सुहाङ बताउनु हुन्छ । आफ्नो अहिले सम्मको जीवनमा बुबासँग बसेर नौं पटकमात्र दशैं–तिहार जस्ता चाडपर्व मनाएको स्मरण गर्दै सुहाङ बुवाले सबै जीवन देशको परिवर्तन र पार्टीका लागि नै दिनुभएको स्मरण गर्नुहुन्छ ।
आफूले वियजी हुँदै गर्दा आफू सँगै चुनावी मैदानमा रहेका सबै उम्मेद्वारले उठाएका सबै मुद्दाहरु इलामको नागरिकका साझा मुद्दा भएको बताउनु भएको छ । ‘एकपटक सबै उम्मेद्वार सँग बसेर छलफल गर्न मन छ । उहाँहरुले उठाउनु भएका मुद्दालाई कसरी सम्बोधन गर्न सकिन्छ, इलामका समस्या समाधान गर्न कस्तो नीति र योजना बनाउनु पर्छ भन्ने विषयमा काम गर्नुछ ।’ सुहाङले भन्नुभयो ‘काम नभएको होइन भएको छ, तर कहाँ कमजोरी भएर ढिलाइ भएको छ, कहाँ पुगेर यहाँका अधुरा योजनाहरु पुरा गर्न सकिन्छ ती कामहरु मैले गर्नुपर्छ ।’
इलाम– २ मा कृषिको आधुनिकीकरण र उत्पादनको बजारीकरणको अर्को समस्या देखिएको उहाँको बुझाइ छ । शिक्षा, स्वास्थ्य र खानेपानीका समस्यामा पनि काम गर्नुपर्ने छ । यहाँका ४२ वटै वडा घुमेर आउँदा थुप्रै समस्याहरु पाइएको छ, भोट दिने आशीर्वाद दिइरहंदा यहाँका बुबा–आमा, दाजुभाइ, दिदी बहिनीहरुले झारेको आँशुको ऋण तिर्न अब इलामबाट टाढा जान नसक्ने उहाँ बताउनु हुन्छ । ‘माथिको नीति निर्माणमा मैले खेल्ने भूमिका, यहाँका काम र योजनालाई माथिबाट अनुमोदन गराउने विषयमा काठमाडौं रहेपनि बाँकी समय इलाम र यहाँका नागरिक सँगै हुनेछु ।’ सुहाङले भन्नुभयो ‘हामी काठमाडौंमा हुँदा बुबाले जसरी हामीलाई एक परिवार र इलामलाई एक परिवारका रुपमा एउटै मालामा बाध्नुहुन्थ्यो । अहिले मलाई त्यस्तै भएको छ इलाम मेरो आफ्नो परिवार हो भन्ने महशुस भएको छ, इलामका लागि मैले केही गर्नुपर्छ ।’
नेकपा एमाले पार्टीलाई विश्वास गर्नुभयो, मेरो बुबालाई श्रद्धाञ्जली दिनुभयो, मलाई आशिर्वाद दिनुभयो यो निर्वाचनमा सहभागी हुने इलाम– २ बासी सम्पूर्णलाई यहींबाट धन्यवाद दिन चाहान्छु । निर्वाचन सम्पन्न गराउन खटिने कर्मचारी, सुरक्षा निकाय, निर्वाचन आयोग र मेरो पार्टी पंक्तिलाई नमन गर्दछु । हरेक पल–पलमा नागरिकमा सुचना पुर्याउनु खटिनु हुने प्रिय सञ्चारकर्मी र सम्पूर्ण सञ्चार संस्थाहरुलाई पनि धन्यवाद दिन चाहान्छु । गोरखापत्रबाट साभार