कर्मचारी बिदामा अछाम प्रशासनको कडाइ (पत्रसहित)

अछाम । बिदामा जाने कर्मचारीलाई प्रमुख जिल्ला अधिकारीको समन्वय मात्रै बिदा स्वीकृत गर्न जिल्ला प्रशासन कार्यालय अछामले पत्र लेखेको छ । कर्मचारी बिदामा बस्दा सार्वजनिक सेवा प्रवाहमा जटिलता भएर नागरिकले गुणस्तरीय सेवा नपाएको भन्दै बिदाइमा कडाइ गरिएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारद्धारा हस्ताक्षर गरिएको पत्रमा जिल्लामा रहेका सबै गाउँ तथा नगर कार्यपालिका र सरकारी कार्यालयलाई पठाइएको पत्रमा बिदा दिँदा प्रमुख जिल्ला अधिकारीसँग समन्वय गर्नुपर्ने उल्लेख गरिएको छ ।
‘कार्यालय प्रमुख र अन्य कर्मचारीलाई प्रमुख जिल्ला अधिकारीसँगको समन्वयमा मात्र बिदा स्वीकृत गर्ने र बिदाको अवधि पुगेका कर्मचारीलाई अनिवार्य कार्यालयमा हाजिर हुने व्यवस्था गर्न गराउनुहुन आदेशानुसार अनुरोध छ ।’ पत्रमा उल्लेख छ । सरकारी कार्यालय र स्थानीय तहमा कार्यरत कर्मचारी बिदामा रहने र लामो समय बस्ने भएकोले नागरिकले सास्ती पाएको भन्दै सहज सेवा प्रवाहका लागि यस्तो पत्र पठाइएको बताइएको छ ।
सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयमा कर्मचारी/जनशक्ति अभावका कारण सेवा प्रवाहमा जटिलता सिर्जना भएको, नागरिकहरुले तोकिएको समयमा गुणस्तरीय सेवा प्राप्त गर्न नसकेको भनी समयमा व्यापक जनगुनासो आएकोले पत्रमा उल्लेख छ ।