दरबारलाई संग्राहलय बनाउने प्रक्रिया थाल्न पुरातत्व विभागका महानिर्देशकको सुझाव

अछाम । मंगलसेनस्थित दरबारलाई संग्राहलय बनाउने चर्चा चलिरहेको बेलामा पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्कले अवलोकन भ्रमण गर्नुभएको छ । महानिर्देशन प्रधानाङ्कले दरबारलाई संग्राहलयको रुपमा स्थापित गर्नु सकारात्मक भएको भन्दै स्थानीयस्तरमा बैठकबाट आवश्य प्रक्रिया अघि बढाउन सुझाव दिनुभएको छ ।
‘स्थानीय जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी लगायतको बैठक बसेर प्रक्रिया अघि बढाउनुस्, विभागले गर्ने काम हामी गछौं ।’ महानिर्देशक प्रधानाङ्कले मंगलसेन नगर प्रमुख पदम बहादुर बोहरासँग भन्नुभयो । दरबार निर्माण लामो समय लागेपनि यसको संरक्षण र आर्कषणको लागि संग्राहलय निर्माणकामा विभागले छिटो भूमिका खेलिदिन नगरप्रमुख बोहराको भनाइ रहेको थियो । मंगलसेनमा रहेको दरबारलाई प्रदेशस्तरकै संग्राहलय बनाउने राम्रो सोच भएको भन्दै महानिर्देशक प्रधानाङ्गले सबै स्थानीय तह, प्रदेशले पनि आवश्यक साझेदारीका आधारमा प्रक्रिया अघि बढेमा विभागले काम गर्ने भनाइ राख्नुभयो ।
मंगलसेन नगरपालिकाका प्रमुख पदम बहादुर बोहराले दरबारको ऐतिहासिक र साँस्कृतिक पक्षको जानकारी दिँदै विभाग र अन्य निकायले संग्राहलय निर्माणमा सहयोग गर्नुपर्ने महानिर्देशकसँग माग राख्नुभयो । प्रमुख जिल्ला अधिकारी, स्थानीय तह र अरुसँग समन्वय भइरहेकोले तत्कालै बैठक गरेर प्रक्रिया अघि बढाउने मंगलसेन नगर प्रमुख बोहराको भनाइ रहेको छ । कमलबजार नगरपालिकाका प्रमुख यज्ञ प्रसाद ढकालले एेतिहािसक र साँस्कृतिक रूपमा महत्वपूर्ण दरबारलाइ संग्राहलयकाे रूपमा अघि बढाउनका लागि पुरातत्व विभागले सहयोग गर्नुपर्ने महानिर्देशकमा भनाइ राख्नुभयाे ।
दरबार अवलोकनका क्रममा महानिर्देशक प्रधानाङ्ग, नगर प्रमुख बाेहरा, ढकालसँगै जिल्ला विकास समिति अछामका पूर्व उपसभापति तेज बहादुर विष्ट, नेकपा (एमाले) का केन्द्रिय सदस्य कमल तिमिल्सेना, पूर्व शिक्षक तिलक कुँवर, हस्तकला विज्ञ मनमोहन सिंह मल्ल, दरबार निर्माणकर्ता राजेन्द्र साउँद, पत्रकार पवित्रा खड्का सहभागिता थियो ।