नेपाल कम्युनिस्ट पार्टीको ७५औँ स्थापना दिवस : टुटफुटको शृङ्खला जारी
नेपाल कम्युनिस्ट पार्टीको ७५औँ स्थापना दिवसका अवसरमा नेपालका कम्युनिस्ट पार्टीहरूले शनिबार विविध कार्यक्रम आयोजना गर्दै छन्। कम्युनिस्ट पार्टीका लागि हालसम्मको यात्रा भने खासै सुखद रहेन।
२००६ मा पुष्पलाल श्रेष्ठलगायतले स्थापना गर्नुभएको कम्युनिस्ट पार्टीमा फुटको शङ्खला अझै पनि रोकिएको छैन। टुटफुटले कम्युनिस्ट पार्टीलाई मात्रै नभएर सिङ्गो आन्दोलनलाई पछि पारिरहेको कम्युनिस्ट आन्दोलनमा लागेका ज्येष्ठ कम्युनिस्ट नेताहरूको दाबी छ। पाका कम्युनिस्ट नेताहरू नेपालमा कतिवटा कम्युनिस्ट पार्टी छन् भन्ने सङ्ख्या यकिन नरहेको दाबी गर्ने गरेका छन्।
स्थापनाकालदेखि नै विवादमा परेको कम्युनिस्ट पार्टी त्यसयता एकीकरण र मातृपार्टी कम्युनिस्ट विचारधाराबाट विचलित भएको भन्दै फुटको शृङ्खला चल्दै आएको छ। विक्रम संवत् २००६ मा भारतको कोलकातामा रहनुभएका पुष्पलाल श्रेष्ठले नेपाली राष्ट्रिय कांग्रेसबाट राजीनामा दिनुभएको थियो। त्यसअघि २००५ चैत २३ गते उहाँले ‘कम्युनिस्ट घोषणापत्र’को नेपाली अनुवाद प्रकाशन गर्नुभएको थियो। नेपाल कम्युनिस्ट पार्टी २००६ वैशाखमा भारतकै कोलकातामा नेकपाको स्थापना भएको भए पनि भदौ ३० गते स्थापनाको जानकारी सार्वजनिक भयो।
नेकपाको संस्थापकमा पुष्पलालसहित नरबहादुर कर्माचार्य, निरञ्जनगोविन्द वैद्य र नारायण विलास मानिन्छ। कम्युनिस्ट पार्टीमा पहिलो पटक केशरजङ्ग रायमाझीका कारण २०१९ सालमा फुट आएको थियो। त्यसपछि टुट्ने र फुट्नेक्रम अहिलेसम्म रोकिएको छैन। कम्युनिस्ट पार्टीलाई एक बनाउने अभियान समय–समयमा गरिएका पनि छन्। मिल्ने अनि केही समयपछि फुट्ने प्रवृत्तिले कम्युनिस्ट आन्दोलनलाई नै धराशयी पारेको छ।
निर्वाचन आयोगमा कम्युनिस्टकै नाममा दर्ता भएका पार्टी मात्र १४ वटा छन्। आयोगमा दर्ता भएका कुल दलको यो १२.५ प्रतिशत हो। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालमा कम्युनिस्ट पार्टी नामको पसल खुल्नेक्रम नरोकिएको बताउनुभयो। यथास्थितिमा नेपालका कम्युनिस्ट पार्टीबीच एकता सम्भव नभएको तथा नयाँ केही गरौँ भनेर पसल खोलिहाल्ने र पसल चल्न छाडेपछि फेरि मिलिहाल्ने परिपाटीको विकास कम्युनिस्ट पार्टीभित्र पसेको उहाँले बताउनुभयो। उहाँले यथास्थितिमा कम्युनिस्ट पार्टीबीच एकता सम्भव नरहेको पनि बताउनुभयो।
नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले पनि नेपालमा कम्युनिस्ट पार्टीको सङ्ख्या गनिसाध्य नभएको बताउनुभयो। नेपालको कम्युनिस्ट आन्दोलनमा यतिबेला संशोधनवाद र क्रान्तिकारी धारबीच अन्तरसङ्घर्ष उहाँको विश्लेषण छ। दुवै धार फरक–फरक रूपमा अघि बढेकाले एकता र सङ्ख्या यकिन नभएको उहाँले बताउनुभयो। संशोधनवादको नेतृत्व गर्ने पार्टी नाम मात्रैको कम्युनिस्ट भएकाले एकताको विषय अघि बढ्न नसक्ने उहाँले बताउनुभयो।
पुराना कम्युनिस्ट नेता तथा नेपाल शिक्षक युनियनका संस्थापक अध्यक्ष माधवप्रसाद अधिकारीले २०३६ सालसम्म हातमै गन्न सकिने कम्युनिस्ट पार्टी भए पनि अहिले यसको सङ्ख्या यकिन नभएको बताउनुभयो। कुरा नमिल्नेबित्तिकै नयाँ पार्टी खोल्ने र नयाँ पार्टी खोल्ने नेतृत्वले आफू सही छु भनेर देखाउन जनतालाई दिग्भ्रमित बनाउने विषयले कम्युनिस्ट पार्टीको सङ्ख्या बढेको उहाँले बताउनुभयो।
पुराना कम्युनिस्ट नेता दलबहादुर श्रेष्ठले कम्युनिस्ट पार्टीको स्थापना दिवस आफैँमा ऐतिहासिक भए पनि जुन उद्देश्यले स्थापना भएको हो, त्यसको उद्देश्य पूरा हुन नसकेको बताउनुभयो। कुनै बेला माओवादी केन्द्र र एमाले मिलेर बनेको ऐतिहासिक शक्ति तत्कालीन नेकपालाई सर्वोच्च अदालतको फैसलाले पुरानै अवस्थामा फर्काइदिएपछि नेपालमा कम्युनिस्टहरूको पतनको सुरुवाती लक्षणसँगै नयाँ राजनीतिक कोर्स स्थापना भएको छ। एमालेको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुनः प्रधानमन्त्री बनेपछि कम्युनिस्ट केन्द्र स्थापनाको चर्चा चुलिए पनि राष्ट्रपति निर्वाचनमा आइपुग्दा बहस नै अन्त्य भएको छ।
एमालेबाट फुटेर बनेको नेकपा समाजवादी अनि सबै कम्युनिस्ट पार्टीका पछिल्ला अवस्थालाई सूक्ष्म ढङ्गले नियाल्ने हो भने पार्टीबीच कसैसँग पनि वैचारिक र सैद्धान्तिक मतभेद पाइँदैन। केवल व्यक्तिगत बदलाको भाव प्रस्ट झल्किन्छ। यो अवधिमा स्थानीय, प्रदेश तथा सङ्घीय निर्वाचनपछि सबैको आ–आफ्नो हैसियत पनि प्रदर्शन भइसकेको अवस्था छ। परिणामस्वरूप एमाले दोस्रो ठूलो दलका रूपमा खुम्चियो भने नेकपा एसले त राष्ट्रिय दलको पहिचानसमेत पाउन सकेन। माओवादीभित्रका अनेकौँ धार मिल्ने अवस्था पनि देखिँदैन। गोरखापत्रबाट साभार