आजबाट अछामका बालबालिकालाई खोप
अछाम । दादुरा-रूबेला रोगका विरूद्द आजबाट अछाममा खोप लाइने भएको छ । नौ महिना माथि र पाँच वर्ष भन्दा तलका बालबालिकालाई खोप लाउने अन्तिम तयारीमा रहेको स्वास्थ्य कार्यालय अछामले जानकारी दिएको छ ।
अछामका ९१ वटै वडाका ३४९ वटा खोप केन्द्रबाट खोप लाइने तयारी रहेको स्वास्थ्य कार्यालय अछामका प्रमुख तथा वरिष्ठ जनस्वास्थ्य अधिकृत झनकराज ढुंगानाले जानकारी दिनुभयो । सबै स्थानीय तहमा दादुरा-रूबेला विरूद्दको खोप पुर्याइ सकिएको, स्वास्थ्यकर्मी र स्वयमसेवक समेत खटाइ सकिएको छ ।
खोप लाउनका लागि बालबालिकालाई सम्बन्धित वडाको खोप केन्द्रमा ल्याउनुपर्ने छ । यसअघि दादुरा लगायतको खोप लाएका बालबालिकालाई समेत खोप लाउनुपर्ने कार्यालयको भनाइ छ । अघिल्लो दिन खोप लाउन छुटेमा स्वास्थ्यकर्मीसँगको समन्वयमा पछिल्लो दिन भएपनि अनिवार्य खोप लाउनुपर्ने छ ।
अछाममा यसपटक २३ हजार ३४५ बालबालिकालाई खोप लगाउने तयारी भइरहेकोले सबैले आफ्ना बालबालिका खोप केन्द्रमा ल्याउन कार्यालय प्रमुख ढुंगानाको आग्रह छ । पञ्चदेवल विनायक नगरपालिकामा भने पर्सि १४ गतेबाट खोप लाउने काम शुरू हुने बताइएको छ ।
खोप लाउने मध्येमा सबैभन्दा बढी पञ्चदेवल विनायक नगरपालिकामा दुई हजार ७५० बालबालिकाले खोप लाउनेमा रहेका छन् भने सबैभन्दा कम बान्नीगढी जयगढ गाउँपालिकामा एक हजार ३३० जना बालबालिकालाई खोप लाउने तयारी गरिएको छ ।
मङ्गलसेन नगरपालिकामा दुई हजार ५९०, तुर्माखाँद गाउँपालिकामा दुई हजार ५१८, मेल्लेख गाउँपालिकामा दुई हजार ४५३, चौरपाटी गाउँपालिकामा दुई हजार ४०२, रामारोशन गाउँपालिकामा दुई हजार ४०१. ढकारी गाउँपालिकामा दुई हजार ३९, साँफेबगर नगरपालिकामा दुई हजार ३९१ जना र कमलबजार नगरपालिकामा दुई हजार १२० जनालाई खोप लगाइने छ ।
यस्तै दादुरा-रूबेला खोपलाई थप प्रभावकारी बनाउन केही दिनअघि स्वास्थ्य कार्यालय अछामले जिल्ला समन्वय समिति प्रमुखको अध्यक्षतामा सरोकारवालाहरूको सहभागितामा बैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । भने शुक्रबार मंगलसेन नगरपालिकाले जनप्रतिनिधि, कर्मचारी र पत्रकारहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । नगरप्रमुख पदमबहादुर बोहराको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मंगलसेन नगरपालिकाको वस्तीमा दुई खोप केन्द्र राखेसँगै सबै ठाउँमा तयारी पूरा भएको स्वास्थ्य शाखा प्रमुख भुमिनन्द ढुंगानाले जानकारी दिनुभएको छ ।