अनलाइनबाटै नागरिकता सिफारिसः सेवाग्राहीमा सहजता, अभिलेखमा एकरूपता

अछाम । प्रविधिको उपयोग गर्दै अछाममा अनलाइनबाटै नयाँ नागरिकता सिफारिस थालनी गरिएको छ । नयाँ नागरिकताको अनुसूची सिफारिसलाई वडा कार्यालयबाटै अनलाइनबाट जिल्ला प्रशासनमा पठाएपछि कार्यालयले रुजु गरेपछि नागरिकता प्राप्त हुने प्रक्रिया थालनी गरिएको हाे ।

वडा कार्यालयले आवश्यक कागजात सहित अनलाइनबाटै सिफारिस गरेपछि जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयको रुजुपछि सेवाग्राहीले नागरिकता पाउने भएका हुन् । “वडाले सबै प्रक्रिया पुर्याएर प्रशासन कार्यालयमा अनलाइनमा विवरण पठाएपछि सक्कली कागजात लिएर सम्बन्धित व्यक्ति गएपछि नागरिकता पाउने भयो ।” मंगलसेन नगरपालिका–५ का वडा सचिव उर्मिला जिसीले भन्नुभयो ।

वडाबाट अनलाइन सिफारिसका लागि जिल्लामा रहेका दशवटै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत, सूचना प्रविधि अधिकृत, प्रशासन कार्यालय र ९१ वटै वडाका सचिवलाई तालिम दिइएको छ । जिल्ला प्रशासन कार्यालय अछामको समन्वयमा गृह मन्त्रालयले स्थानीय तह र जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरुलाई तालिम दिएको हो । नयाँ नागरिकताका लागि व्यक्तिको अनुसूची पेश भएमा वडाले आवश्यक सिफारिसका साथमा अनलाइनमार्फत जिल्ला प्रशासन कार्यालयमा विवरण पुरयाउने छ । गृह मन्त्रालयको केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणालीमार्फत जिल्लाका दशवटै स्थानीय तहबाट एकैचोटी प्रविधिको प्रयोग शुरु गरिएको हो ।

अनलाइनबाटै नागरिकता सिफारिसले अभिलेखमा शुद्धता, समयको बचत, खर्चमा कमी र छिटो छरितो सेवाग्राहीले सेवा पाउने भएको प्रमुख जिल्ला अधिकारी शिव प्रसाद लम्सालले जानकारी दिनुभयो । अनलाइन सेवाले आवश्यक कागजात वा प्रक्रियाको अभावमा सेवाग्राही पुनः वडामै फर्किनुपर्ने बाध्यता हटेको बताइएको छ । व्यक्तिको जन्मदर्ताको आधारमा नागरिकता बन्ने भएकोले स्थानीय तह, जिल्ला प्रशासन र गृह मन्त्रालयको विवरणमा समेत एकरुपता आउने प्रमुख जिल्ला अधिकारी लम्सालको भनाई छ ।

जिल्ला प्रशासन कार्यालय अछामले एक सूचना जारी गरेर ९१ वटै वडाहरुबाट नयाँ नागरिकता सिफारिस अनलाइनबाट प्रणालीमार्फत गर्न र गराउनुहुन भनिएको छ । नेपाली नागरिकता प्रमाणपत्र वितरण तथा नागरिकताको अभिलेख व्यवस्थापनलाई थप व्यवस्थित एवम् प्रविधिमा आधारित बनाउने उद्देश्य रहेको प्रमुख जिल्ला अधिकारी शिव प्रसाद लम्सालले जानकारी दिनुभयो । प्रतिलिपिका लागि जिल्ला प्रशासन कार्यालयमा रहेको नागरिकताको विवरणसँग भिडाउनु पर्ने भएकोले नागरिकताको प्रतिलिपि भने यसअघिकै प्रक्रिया अनुसार पाइने छ । 

 

Mangalsen Ward
सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page