मंगलसेन नगरपालिकाद्वारा खेल तालिका सार्वजनिक (हेर्नुस् तालिका)
अछाम । १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको मंगलसेन नगरस्तरीय खेल तालिका सार्वजनिक गरिएको छ । नगरपालिकाभित्र रहेका १२ वटा माध्यमिक विद्यालयको सहभागितामा आयोजना हुन लागेको उक्त प्रतियोगितामा भलिबल, कबड्डी, दौड तथा कराते लगायतका विभिन्न खेल विधा समावेश गरिएका छन् । प्रतियोगिता यही पुस २५ गतेबाट सञ्चालन गरिने तय गरिएको छ ।
नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा हुन लागेको प्रतियोगिताले विद्यालय तहका विद्यार्थीहरूको प्रतिभा उजागर गर्नुका साथै अनुशासन, टीमवर्क र खेलभावनाको विकासमा सहयोग पुग्ने विश्वास लिइएको छ । सार्वजनिक गरिएको तालिकाअनुसार प्रतियोगितामा छात्र र छात्रा दुवै तर्फका खेलहरू सञ्चालन गर्ने गरी तयारी तीव्र भइरहेको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख दिपक भण्डारीले जानकारी दिनुभयो ।
विभिन्न खेल विधाका प्रतिस्पर्धा तोकिएका मितिमा क्रमशः सञ्चालन हुने गरी तालिका तयार गरिएको छ । प्रतियोगिताबाट उत्कृष्ट खेलाडी छनोट गरी जिल्ला तथा प्रदेशस्तरीय प्रतियोगितामा सहभागी गराइने छ । नगरपालिकाकाको शिक्षा, खेलकुद तथा युवा शाखाका अनुसार राष्ट्रपति रनिङ शिल्ड अन्तर्गतका खेलहरूमा निकै आकर्षणका रूपमा रहने बताइएको छ ।
शिक्षा शाखाले सबै सहभागी विद्यालय, शिक्षक, खेलाडी र अभिभावकलाई प्रतियोगितालाई मर्यादित र सफल बनाउन सहयोग गर्न आग्रह गरेको छ। नगरपालिकाले आवश्यक खेल सामग्री, निर्णायक व्यवस्थापन र सुरक्षा प्रबन्धलाई समेत प्राथमिकतामा राखेर तयारी अगाडि बढाएको जनाएको छ ।
नगरस्तरीय प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएपछि उत्कृष्ट विद्यालय र खेलाडीलाई पुरस्कार तथा सम्मान प्रदान गरिने कार्यक्रमसमेत रहेको छ। राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई मंगलसेन नगरपालिकाले विद्यालय खेलकुद विकासको महत्वपूर्ण आधारका रूपमा लिँदै आएको छ ।
हेर्नुस् खेल तालिका
