सुपथ मूल्य पसल सञ्चालन, चामलमा प्रतिकेजी ५ रुपैयाँ छुट

अछाम । दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै अछाममा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय अछामले मंगलसेनमा चामलमा प्रतिकेजी ५ रुपैयाँ छुट दिएर बिक्री गर्न थालेको हो । 

शाखा प्रमुख गोविन्द राईका अनुसार सुपथ मूल्य पसलमार्फत स्टिम जिरा मसिनो र अरुवा मोटा चामल सहुलियत मूल्यमा बिक्री भइरहेको छ । चाडपर्वका बेला खाद्यान्नको माग बढ्ने र उपभोक्ताको खर्चसमेत बढ्ने भएकाले राहत दिने उद्देश्यले छुटसहित बिक्री व्यवस्था मिलाइएको उनले बताए ।

कम्पनीले स्टिम जिरा मसिनो चामलको मूल्य प्रतिकेजी ९२ रुपैयाँबाट घटाएर ८७ रुपैयाँ कायम गरेको छ । यसअनुसार २५ केजीको एक बोराको मूल्य २ हजार १७५ रुपैयाँ पर्नेछ । त्यस्तै, अरुवा मोटा चामलको मूल्य प्रतिकेजी ६१ रुपैयाँबाट घटाएर ५६ रुपैयाँ कायम गरिएको छ । उक्त चामलको एक बोरा १ हजार ४०० रुपैयाँमा बिक्री भइरहेको शाखा कार्यालयले जनाएको छ ।

शाखा कार्यालयका अनुसार छुट सुविधा असोज २६ गतेदेखि लागू हुने गरी सीमित अवधिका लागि व्यवस्था गरिएको छ । शाखा प्रमुख राईले जिल्लावासीलाई सुपथ मूल्य पसलबाट आवश्यक खाद्यान्न खरिद गरी सहुलियतको लाभ लिन आग्रह गरेका छन् ।

दसैँ, तिहार तथा छठ पर्वमा खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको खपत बढ्ने भएकाले सुपथ मूल्य पसलबाट उपभोक्तालाई केही आर्थिक राहत पुग्ने अपेक्षा गरिएको छ । विशेषगरी निम्न तथा मध्यम आय भएका परिवारलाई सहुलियत मूल्यमा खाद्यान्न उपलब्ध हुँदा चाडपर्वको खर्च व्यवस्थापनमा सहयोग पुग्ने विश्वास गरिएको छ ।

सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चाडपर्वका बेला उपभोक्तालाई गुणस्तरीय खाद्यान्न सहुलियत मूल्यमा उपलब्ध गराउने उद्देश्यले यस्तो व्यवस्था गरेको जनाएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page

error: Content is protected !!