कमलबजार प्रहरीको सार्वजनिक सुनुवाइः शान्ति, सुरक्षामै जोड

अछाम । कमलबजार क्षेत्रमा लागुऔषध सम्बन्धी घटना बढ्दै गएको भन्दै स्थानीयवासीले यसको नियन्त्रणका लागि प्रहरी सक्रियता बढाउन माग गरेका छन् । इलाका प्रहरी कार्यालय कमलबजारले आयोजना गरेको नागरिक सुनुवाइ कार्यक्रममा सहभागीहरूले चाडपर्वका बेला प्रहरी गस्ती बढाउन, सवारी दुर्घटना न्यूनीकरण गर्न तथा बालविवाह र आत्महत्याका घटना रोक्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव दिएका हुन् ।

प्रहरीका गतिविधिबारे नागरिकलाई जानकारी गराउने, स्थानीयका गुनासा तथा सुझाव सुन्ने र प्राप्त सुझावलाई आगामी दिनमा कार्यान्वयन गर्दै प्रहरी र नागरिकबीचको सम्बन्ध सुमधुर बनाउने उद्देश्यले इलाका प्रहरी कार्यालयको परिसरमा कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा सहभागी स्थानीयवासीले उपलब्ध स्रोतसाधनको सीमाभित्र रहेर शान्ति सुरक्षा कायम गर्न प्रहरीले प्रभावकारी भूमिका निर्वाह गरेको भन्दै प्रशंसा गरेका थिए । स्थानीय नागरिकसँग समन्वय र सहकार्य गर्दै प्रहरीले आफ्ना गतिविधि अघि बढाएको उनीहरूको भनाइ थियो ।

जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक पविन्द्र बहादुर बम्मको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि कमलबजार नगरपालिकाका नगर प्रमुख यज्ञप्रसाद ढकालले शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी प्रहरीको मात्र नभई नागरिकको पनि साझा दायित्व भएको बताए । नागरिकको सुखदुःखमा प्रत्यक्ष रूपमा जोडिने र सुरक्षाका लागि अग्रपङ्क्तिमा खटिने संस्था नेपाल प्रहरी भएको उल्लेख गर्दै उनले नागरिकलाई पनि ‘बिनावर्दीका प्रहरी’ का रूपमा व्याख्या गरे । चाडपर्वका समयमा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरी र नागरिकबीच बलियो सहकार्य आवश्यक रहेको उनको भनाइ थियो ।

“समाजमा शान्ति सुरक्षा कायम गर्न प्रहरी एक्लैले सबै काम गर्न सम्भव हुँदैन । नागरिकले पनि आफ्नो जिम्मेवारी बुझेर प्रहरीलाई सहयोग गर्नुपर्छ । नागरिकको साथ र सहयोग भएमा मात्रै अपराध नियन्त्रण गर्न र सुरक्षित समाज निर्माण गर्न सकिन्छ,” नगर प्रमुख ढकालले भने । नगरपालिकाले प्रहरीसँगको साझेदारीमा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्दै उनले आगामी दिनमा यस्ता कार्यक्रमलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे ।

नगरपालिकाका उपप्रमुख शारदा विष्ट कुँवरले महिला तथा बालबालिकामाथि हुने हिंसा न्यूनीकरणका लागि प्रहरीले देखाएको सक्रियताको प्रशंसा गरिन् । समुदाय तथा विद्यालयमा पुगेर सञ्चालन गरिएका सचेतनामूलक कार्यक्रमले सकारात्मक प्रभाव पार्न थालेको उल्लेख गर्दै उनले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताइन् । “महिला तथा बालबालिकामाथि हुने हिंसा न्यूनीकरण गर्न कानुनी कारबाहीसँगै जनचेतना अभिवृद्धि पनि उत्तिकै आवश्यक छ । प्रहरीले समुदाय र विद्यालयस्तरमा सञ्चालन गरेका सचेतनामूलक कार्यक्रमले सकारात्मक प्रभाव पारेका छन् । यस्ता कार्यक्रमलाई निरन्तरता दिन नगरपालिका आवश्यक सहयोग गर्न तयार छ,” उपप्रमुख कुँवरले भनिन् ।

कार्यक्रममा अछामका प्रमुख जिल्ला अधिकारी टीकाराम ढकालले प्रहरी र नागरिकबीच विश्वासपूर्ण सम्बन्ध कायम भएमा मात्रै समाजमा दिगो शान्ति सुरक्षा सुनिश्चित गर्न सकिने बताए । अपराध नियन्त्रण र सामाजिक सद्भाव कायम गर्न नागरिकको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण हुने उनको भनाइ थियो । उनले कुनै आपराधिक गतिविधि वा शङ्कास्पद घटना देखिएमा समयमै प्रहरीलाई सूचना दिएर सहयोग गर्न नागरिकलाई आग्रह गरे । यस वर्षको चाडपर्वलाई लक्षित गर्दै जिल्ला सुरक्षा समितिले विशेष सुरक्षा योजना लागू गरेको जानकारी दिँदै उनले नागरिकलाई ढुक्क भएर चाडपर्व मनाउनसमेत आग्रह गरे ।

कार्यक्रममा सहभागीहरूले उठाएका प्रश्न तथा जिज्ञासाको जवाफ दिँदै प्रहरी नायब उपरीक्षक बम्मले नागरिकबाट प्राप्त गुनासा र सुझावलाई गम्भीरतापूर्वक लिएर आगामी दिनमा कार्यान्वयन गर्दै जाने प्रतिबद्धता व्यक्त गरे । शान्ति सुरक्षा कायम गर्न र अपराध नियन्त्रण गर्न प्रहरीको एकल प्रयास पर्याप्त नहुने भन्दै उनले स्थानीय सरकार, नागरिक समाज र आम नागरिकको सहयोग आवश्यक रहेको बताए ।

कार्यक्रममा चाडपर्वका बेला प्रहरीकै मिलेमतोमा जुवातास खेलाइने गरेको भन्ने प्रश्नसमेत उठेको थियो । त्यसको जवाफ दिँदै प्रहरी प्रमुख बम्मले जुवातास नियन्त्रणमा कुनै सम्झौता नगरिने स्पष्ट पारे । “विगतमा कसले के गर्यो भन्ने विषयमा नजाऔँ, तर अछाम प्रहरी जुवातास नियन्त्रणका विषयमा कुनै पनि प्रकारको सम्झौता गर्दैन । प्रहरीको संलग्नतामा वा अन्य कुनै पनि ठाउँमा जुवातास खेलाइएको पाइएमा कानुनअनुसार कडा कारबाही गरिनेछ,” उनले भने । उनले समाजमा हुने गैरकानुनी तथा अनैतिक गतिविधिबारे जानकारी पाएमा तत्काल प्रहरीलाई सूचना दिन आग्रह गर्दै अपराध नियन्त्रणका लागि प्रहरीलाई सहयोग गर्न नागरिकसँग अनुरोध गरे ।

कार्यक्रममा कमलबजार नगरपालिका वडा नम्बर ८ का अध्यक्ष प्रजाबहादुर बोगटी, वडा नम्बर ९ का अध्यक्ष कमलप्रसाद बजगाई, निमित्त प्रमुख प्रशासकीय अधिकृत खड्गबहादुर विष्टलगायत स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन इलाका प्रहरी कार्यालय कमलबजारका प्रमुख प्रहरी निरीक्षक सरोजकुमार कैलाले गरेका थिए ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page

error: Content is protected !!