मंगलसेन नगरपालिकाद्वारा शुभकामना आदानप्रदान

मंगलसेन । बडादसैँ, तिहार तथा छठ पर्वलाई शान्तिपूर्ण, सुरक्षित र मर्यादित रूपमा मनाउने सन्देशसहित मंगलसेन नगरपालिकाले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ ।

नगर प्रमुख पदमबहादुर बोहराको अध्यक्षतामा नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका प्रतिनिधि तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूले चाडपर्वको मौलिकता संरक्षण गर्दै सामाजिक सद्भाव र शान्ति कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिएका छन् ।

वक्ताहरूले नेपाली समाजको संस्कृति, परम्परा र आपसी एकताको प्रतीकका रूपमा रहेका चाडपर्वलाई मर्यादित र व्यवस्थित बनाउन नागरिक, स्थानीय सरकार तथा सुरक्षा निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताएका थिए । चाडपर्वका नाममा हुने आपराधिक गतिविधि, सामाजिक विकृति तथा अवाञ्छित क्रियाकलाप नियन्त्रण गर्दै मौलिक संस्कृति र परम्पराको संरक्षण गर्नुपर्ने उनीहरूको भनाइ थियो ।

कार्यक्रममा बोल्दै अछामका प्रमुख जिल्ला अधिकारी टीकाराम ढकालले चाडपर्वलाई लक्षित गरी जिल्ला प्रशासन कार्यालयले विशेष सुरक्षा योजना लागू गरेको जानकारी दिए । उनले नागरिकलाई सुरक्षित रूपमा चाडपर्व मनाउने वातावरण निर्माण गर्नु सुरक्षा निकायको प्राथमिकता रहेको उल्लेख गर्दै शान्ति सुरक्षा कायम राख्न सबै नागरिकको सहयोग आवश्यक रहेको बताए ।

“चाडपर्व खुसी, उमङ्ग र आपसी सद्भाव साटासाट गर्ने अवसर हुन् । सबै नागरिकले ढुक्क भएर चाडपर्व मनाउन सक्ने वातावरण निर्माण गर्नु सुरक्षा निकायको प्राथमिकता हो,” उनले भने, “नागरिकले पनि आफ्नो सुरक्षा र सामाजिक जिम्मेवारीप्रति सचेत रहँदै प्रहरी प्रशासनलाई आवश्यक सहयोग गर्नुपर्छ ।”

प्रमुख जिल्ला अधिकारी ढकालले मौसममा अपेक्षित सुधार नआएकाले विपद्जन्य घटनाको जोखिम कायमै रहेको उल्लेख गर्दै यात्रा गर्दा तथा नदी र खोलानालाको आसपास आवतजावत गर्दा विशेष सावधानी अपनाउन आग्रह गरे । चाडपर्वको उल्लाससँगै आफ्नो र परिवारको सुरक्षालाई पनि प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा सहभागी वक्ताहरूले चाडपर्वलाई औपचारिक उत्सवमा मात्र सीमित नराखी पारिवारिक भेटघाट, मेलमिलाप, आपसी सहयोग र सामाजिक सद्भाव अभिवृद्धि गर्ने अवसरका रूपमा लिनुपर्ने बताएका थिए । समाजमा शान्ति, सहिष्णुता र एकता कायम राख्न सबै पक्षबीच सहकार्य हुनुपर्नेमा उनीहरूले जोड दिएका थिए ।

कार्यक्रममा नगर उपप्रमुख संगीता रावल सोडारी, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद ढुंगाना, पूर्व नगर उपप्रमुख सरिता उपाध्याय, गोरखबक्स गणका प्रमुख सेनानी राजु महर्जन, जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख पविन्द्र बम, अनुसन्धान अधिकृत अशोक पौडेल, कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख दिवस घिमिरेलगायतको सहभागिता रहेको थियो ।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सचिव बमबहादुर रावल, नेकपा एमालेका प्रदेश कमिटी सदस्य भीम जनाला, बजार विकास समितिका अध्यक्ष गोपाल बोगटीलगायत विभिन्न क्षेत्रका प्रतिनिधि तथा सरोकारवालाहरू कार्यक्रममा सहभागी थिए । कार्यक्रमको सञ्चालन नगरपालिकाका प्रशासनिक अधिकृत खकेन्द्रबहादुर सोडारीले गरेका थिए ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page

error: Content is protected !!