अदालतबाट दोषी ठहर भई फरार दुई प्रतिवादी पक्राउ
मंगलसेन । अदालतबाट दोषी ठहर भई फरार रहेका दुई जना प्रतिवादीलाई अछाम प्रहरीले पक्राउ गरी अछाम जिल्ला अदालतमा बुझाएको छ । पक्राउ पर्नेमा बान्नीगढी जयगढ गाउँपालिका–६ दर्नाका ३६ वर्षीय जयन्द्र शाह र तुर्माखाँद गाउँपालिका–६ रानीवनका ३६ वर्षीया ईन्द्रा न्यौपाने रहेका छन् ।
वन्यजन्तु अवैध शिकार मुद्दामा कैद र जरिवाना तोकिएका शाहलाइ अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा प्रहरीले शाहलाई मंगलबार दिउँसो उनकै घर ठेगानाबाट पक्राउ गरेको हो । अछाम जिल्ला अदालतले २०८२ चैत १६ गतेको फैसला अनुसार शाहलाई वन्यजन्तु अवैध शिकार मुद्दामा १ महिना कैद, रु. ५ हजार जरिवाना र रु. २ सय पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला गरेको थियो ।
त्यस्तै काठ कटान तथा ओसारपसार मुद्दामा जरिवाना तोकिएकी न्यौपानेलाई प्रहरीले बुधबार दिउँसो उनकै घर ठेगानाबाट पक्राउ गरेको हो । अछाम जिल्ला अदालतको २०८० माघ २३ गतेको फैसला अनुसार काठ कटान तथा ओसारपसार मुद्दामा न्यौपानेलाई रु. २२ हजार ४११ रुपैयाँ ७७ पैसा जरिवाना तोकिएको थियो ।
शालाइ जयगढ चौकीबाट र न्यौपानेलाई भैरवस्थान प्रहरी चौकीबाट टोली खटाई पक्राउ गरिएको जनाइएको छ । पक्राउपछि उनीहरूलाई जिल्ला प्रहरी कार्यालय, अछाममा ल्याई आवश्यक प्रक्रिया पूरा गरी जिल्ला अदालतमा उपस्थित गराइएको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक पबिन्द्र बहादुर बम्मले जानकारी दिनुभयो ।
अदालतबाट फैसला भइसकेपछि पनि फरार रहेका प्रतिवादीहरूको खोजी तथा पक्राउ गरी फैसला कार्यान्वयन गर्ने कार्यलाई प्रहरीले निरन्तरता दिइरहेको छ।
