अछामका सीडीओ बाँके सरुवा, नयाँमा ढकाल आउने
मंगलसेन । अछामका प्रमुख जिल्ला अधिकारी (सीडीओ) यज्ञबहादुर बुढाको सरुवा भएको छ । गृह मन्त्रालयले गरेको उपसचिवहरूको सरुवा अन्तर्गत बुढालाई जिल्ला प्रशासन कार्यालय बाँकेको सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा सरुवा गरेको हो ।
गृह मन्त्रालयले काठमाडौंस्थित अध्यागमन विभाग, कालिकास्थानका निर्देशक टीकाराम ढकाललाई अछामको प्रमुख जिल्ला अधिकारीका रूपमा खटाएको छ । मन्त्रालयले २०८३ असोज १५ गते गरेको सरुवा निर्णयअनुसार अछामसहित विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको जिम्मेवारी हेरफेर गरिएको हो ।
बुढा २०८२ मंसिर १२ गते अछामका प्रमुख जिल्ला अधिकारीका रूपमा जिल्ला प्रशासन कार्यालयमा हाजिर हुनुभएको थियो । करिब १० महिना अछामको प्रशासनिक नेतृत्व सम्हालेपछि उनको बाँके सरुवा भएको हो ।
अछामको नयाँ प्रमुख जिल्ला अधिकारीका रूपमा आउन लागेका ढकाल नेपाल सरकारका उपसचिव हुन् । अध्यागमन विभागको विवरणअनुसार ढकालले २०८१ भदौ ३० गते विभागमा हाजिर हुनुभएको थियो । ढकाल भदाै महिनामा उत्कृष्ठ कर्मचारीमा छनोट हुनुभएको थियो ।
ढकालले यसअघि विभिन्न स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतका रूपमा समेत काम गरिसकेको बताइएको छ । उनले श्रम तथा वैदेशिक रोजगार, अध्यागमन तथा विपद् व्यवस्थापनलगायतका क्षेत्रमा समेत काम गरेको अनुभव रहेको छ ।
