अछाम प्रहरीद्वारा साउन महिनाको प्रगति सार्वजनिक : एकै महिनामा १२ जना पक्राउ
मंगलसेन । जिल्ला प्रहरी कार्यालय अछामले साउन महिनाभर सम्पादन गरेका कामहरूको प्रगति विवरण सार्वजनिक गरेको छ । कार्यालयले आर्थिक वर्ष २०८३/०८४ को पहिलो महिना साउन अवधिमा अपराध अनुसन्धान, शान्ति सुरक्षा, सवारी व्यवस्थापन तथा सामुदायिक सचेतनाका क्षेत्रमा भएका गतिविधिहरू सार्वजनिक गरेको हो ।
सूचना अधिकारी प्रहरी निरीक्षक रुद्रराज कँडेलका अनुसार साउन महिनामा जिल्लाभर अपराध अनुसन्धान तथा कानुनी कारबाही अन्तर्गत १५ वटा मुद्दा दर्ता भएका छन् । ति मध्ये महिला तथा बालबालिका सम्बन्धी पाँच, ज्यान सम्बन्धी तीन, सवारी ज्यान सम्बन्धी दुई, तथा चोरी र संगठित अपराध सम्बन्धी एक–एक मुद्दा रहेका छन् ।
अछाम प्रहरीले एक महिनाको अवधिमा चालु मुद्दाका १० जना प्रतिवादीलाई पक्राउ गर्न सफल भएको छ भने एक जना प्रतिवादी अझै फरार रहेको र खोजी कार्य जारी रहेको जनाएको छ । फैसला कार्यान्वयनतर्फ दुई जना प्रतिवादीलाई पक्राउ गरी १० महिना २५ दिन कैद तथा १० हजार रुपैयाँ जरिवाना असुल गरिएको प्रहरी निरीक्षक कँडेलले जानकारी दिनुभयो । यसैगरी कार्यालयमा परेका १७ वटा ठाडो उजुरीमध्ये १३ वटा फर्छ्योट गरिएको छ ।
साउन महिनामा जिल्लामा छ वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । चालकको लापरबाही, सडकको अवस्था तथा प्रतिकूल मौसमलाई दुर्घटनाका प्रमुख कारणका रूपमा विश्लेषण गरिएको छ । सवारी नियम उल्लंघन गर्ने १०८ वटा सवारी साधनलाई कारबाही गरी एक लाख १० हजार रुपैयाँ राजस्व संकलन गरिएको प्रहरीले जनाएको छ ।
शान्ति सुरक्षा कायम राख्न जिल्लाभर पिकेट, चेकजाँच तथा गस्ती सञ्चालन गरी कुल २ हजार ५३२ पटक प्रहरी टोली परिचालन गरिएको तथ्यांकमा उल्लेख छ । समुदाय तथा विद्यालय केन्द्रित १४२ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएका छन्, जसमा ५ हजार ६०२ जना नागरिकको सहभागिता रहेको छ । यस्तै, साउन महिनामा ९६४ जना सेवाग्राहीले प्रत्यक्ष सेवा लिएका छन् भने प्रहरीको हटलाइन तथा सम्पर्क नम्बरमा ६६४ वटा कल प्राप्त भएको प्रहरीले जनाएको छ ।
एक महिनाको अवधिमा अछामबाट हराएका छ जनामध्ये पाँच जना (एक बालक, एक बालिका, एक ज्येष्ठ नागरिक र दुई पुरुष) लाई प्रहरीले फेला पारी आफन्तको जिम्मा लगाएको छ । अवैध गतिविधि नियन्त्रणका क्रममा प्रहरीले ५२५ लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ । साथै जिल्लाका विभिन्न स्थानमा ८० रोपनी क्षेत्रफलमा प्राकृतिक रूपमा उम्रिएका करिब ५ हजार ८०० गाँजाका बोट नष्ट गरिएको छ ।
प्रहरी कर्मचारीहरूको मनोबल उच्च राख्न साउन महिनामा उत्कृष्ट कार्य गर्ने ११ जना प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको छ । आन्तरिक सुधार अन्तर्गत प्रहरी चौकी मंगलसेनको जीर्ण भान्सा कोठा मर्मत गरिएको छ भने कार्यालय परिसरमा वृक्षरोपणलगायतका रचनात्मक कार्यहरू समेत सम्पन्न गरिएको प्रहरीले जनाएको छ ।
