अछामको विकासका लागि काठमाडौंमा सांसदसँग अन्तरक्रिया

अछाम । अछामका विकास निर्माण लगायत विभिन्न विषयमा अछाम २ का प्रतिनिधिसभा सदस्य (सांसद) यज्ञ बहादुर बोगटीसँग अन्तरक्रिया गरिएको छ । नेकपा (एमाले) अछाम–काठमाडौं सम्पर्क मञ्चको आयोजनामा अछामको समग्र विकास, विकास निर्माणका आयोजना, जनताका समस्या तथा समसामयिक राजनीतिक र सामाजिक विषयमा छलफल गरिएको हो ।

मीनभवनमा रहेको नेपाल कमर्स क्याम्पसमा शनिबार सांसद यज्ञबहादुर बोगटीसँग अछाममा सञ्चालित तथा निर्माणाधीन सडक, खानेपानी, विद्युत्, शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि तथा पूर्वाधार विकासका योजनाहरूलाई प्रभावकारी रूपमा अघि बढाउने विषयमा सहभागीहरूले धारणा राख्नुभएको थियो । कार्यक्रममा अछामबाट काठमाडौंमा विभिन्न पेशा, व्यवसाय तथा अध्ययनका क्रममा रहेका एमाले समर्थक तथा शुभेच्छुकहरूको सहभागिता रहेको थियो । सहभागीहरूले जिल्लाको विकाससँग प्रत्यक्ष जोडिएका विषयहरू उठाउँदै जनताका अपेक्षा र स्थानीयस्तरमा देखिएका समस्याबारे माननीय बोगटीको ध्यानाकर्षण गराउनु भएको थियो ।

जिल्लाको भौगोलिक विकटता, कमजोर पूर्वाधार र सीमित स्रोत–साधनका कारण विकासका काम अपेक्षित गतिमा अघि बढ्न नसकेको विषय उठाइएको थियो । विशेषगरी रणनीतिक सडक सञ्जालको विस्तार तथा स्तरोन्नति, ग्रामीण सडकको गुणस्तर सुधार, विद्युत, तथा सञ्चारको पहुँच विस्तार, खानेपानी समस्या समाधान र स्वास्थ्य तथा शैक्षिक पूर्वाधारको विकासमा भूमिका खेल्न सुझाव दिएका छन् । त्यस्तै पर्यटन, कृषि तथा जडीबुटी क्षेत्रको विकास र स्थानीय उत्पादनको बजारीकरण गर्न सके जिल्लाको आर्थिक अवस्था सुधार गर्न सकिने धारणा पनि व्यक्त गरिएको थियो ।

कार्यक्रममा काठमाडौंमा रहेका अछामवासीले जिल्लाको विकास र सामाजिक रूपान्तरणमा निर्वाह गर्न सक्ने भूमिकाबारे समेत छलफल भएको थियो । जिल्लाबाट बाहिर रहेका नागरिकको ज्ञान, सीप, अनुभव र स्रोतलाई अछामको विकाससँग जोड्नुपर्नेमा सहभागीहरूले जोड दिएका छन् । सम्पर्क मञ्चले जिल्लाका समसामयिक समस्या र विकासका सवालमा काठमाडौंमा रहेका अछामीबीच निरन्तर छलफल तथा समन्वय गर्दै आएको र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताइएको छ ।

कार्यक्रममा उठेका विषय र सुझावलाई गम्भीरतापूर्वक लिँदै माननीय यज्ञ बोगटीले अछामको विकास र जिल्लावासीका समस्याका विषयमा निरन्तर पहल गरिरहेकोले अझै जारी राख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । अछामको विकासका लागि संघीय तहबाट गर्नुपर्ने पहल, बजेट तथा योजनाको प्रभावकारी कार्यान्वयन र सम्बन्धित निकायसँग समन्वय गर्नेमा भनाइ राख्नुभयो ।

अन्तरक्रिया कार्यक्रममा एमाले सम्बद्द नेता कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page

error: Content is protected !!