अछामका ठेकेदार बुढा बाजुरामा पक्राउ
मार्तडी । बाजुराको बडीमालिका नगरपालिका-८ स्थित बाउली खोलामा पुल निर्माणको जिम्मा लिएका ठेकेदार भोजराज बुढा पक्राउ परेका छन् । अछामको पञ्चदेवल विनायक नगरपालिका–५ निवासी ४० वर्षीय बुढा चेक अनादर मुद्दामा पक्राउ परेका हुन् ।
जिल्ला अदालत अछामले चेक अनादर मुद्दामा प्रतिवादीका नाममा २० लाख ७० हजार रुपैयाँ विगो तोकेको थियो । उक्त विगो रकम तिर्न नसकेपछि अदालतले विगोबापत दुई वर्ष कैद सजायको फैसला गरेको थियो । तर फैसला कार्यान्वयन हुनुअघि नै फरार रहेका बुढालाई जिल्ला अदालत अछामको पक्राउ आदेशअनुसार पक्राउ गरिएको हो ।
बुढालाई बिहीबार दिउँसो जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक नरेशबहादुर शाहीको कमान्डमा खटिएको प्रहरी टोलीले बडीमालिका नगरपालिका–८ स्थित बाउलीमा रहेको उनको डेरा कोठाबाट पक्राउ गरेको हो । पक्राउ परेका बुढालाई हाल जिल्ला प्रहरी कार्यालय बाजुराको हिरासतमा राखिएको छ । आवश्यक कानुनी प्रक्रिया पूरा गरी अदालतमा उपस्थित गराउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
बडीमालिका नगरपालि- ८ बाउली खाेलामा रहेको निर्माणाधीन पुल सडक डिभिजन कार्यालयसँग भएको सम्झौता अनुसार ठेकेदार बुढा सहितकाे निर्माण कम्पनी टीडीआर–जुगल–कौशिक जेभीले पुल निर्माणको जिम्मा लिए पनि पाँच वर्षदेखि अलपत्र अवस्थामा छ । २०७८ साल असार १५ गते सम्झौता भएको यो पुलको म्याद २०७९ साल अर्थात १६ महिनामै सकिने लक्ष्य थियो । तर काम सम्पन्न नभएपछि पटक–पटक म्याद थप गरिए पनि हालसम्म पुल निर्माण हुन सकेकाे छैन् ।
