कमलबजारमा अटो दुर्घटना: ३ घाईते, एक गम्भीर
कमलबजार । कमलबजार-मंगलसैन सडक खण्ड अन्तर्गत ओखड नजिकै अटो दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । कुइकाबाट कमलबजारतर्फ जाँदै गरेको सु.प.प्र. ०१-००१ ह ८४४० नम्बरको अटो अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा परी कमलबजार नगरपालिका वडा नं. ५ का केशवराज उपाध्याय, बेला भण्डारी र अमृता भण्डारी घाइते भएका छन् । घाइतेमध्ये बेला भण्डारीको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय कमलबजारका प्रमुख प्रहरी निरीक्षक सरोज कुमार कैलाले जानकारी दिनुभयो ।
घाइते सबै जनाको प्राथमिक उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल मंगलसैन पठाइएको छ । अटोमा सवार अन्य एक जना यात्रु र चालक भने पूर्ण रूपमा सकुशल रहेका छन् । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने दुर्घटनाको विस्तृत कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
