स्थानीय तह पुनर्संरचनामा तुर्माखाँदका तीन प्रस्ताव
अछाम । अछाम जिल्लाको स्थानीय तह पुनर्संरचनाका सन्दर्भमा तुर्माखाँद गाउँपालिकाले तीन वटा प्रस्ताव गरेको छ ।
तुर्माखाँद गाउँपालिका जनसंख्या, भुगोलका हिसाबले सक्षम रहेकोले एउटै पालिका बनाउन प्रस्ताव गरिएको छ । साविकका ७ वटा गाउँ विकास समितिहरू मिलेर बनेको यस पालिकाको जनसंख्या हाल करिब २५ हजार रहेको छ । यो जनसंख्याको आधारमा एउटै पालिका कायम राख्दा पनि सरकारी मापदण्ड र ‘गाइडलाइन’ सँग मेल खाने देखिएको छ ।
दोस्रोमा तुर्माखाँद र ढकारी गाउँपालिका गाभेर एउटा स्थानीय तह बनाउन प्रस्ताव गरिएको गाउँपालिका अध्यक्ष डम्बर बिसीले जानकारी दिनुभयो । संख्या अझ बढी घटाउनुपर्ने अवस्था आएमा तुर्माखाँद, ढकारी र कमलबजार नगरपालिकाका केही वडाहरूलाई समेत समेटेर एउटा बलियो स्थानीय तह बनाउन सकिने सुझाव दिइएको छ ।
पालिकाहरू गाभ्ने वा पुनर्संरचना गर्दा मुख्यतया सांस्कृतिक सामीप्यता, प्राकृतिक स्रोत र साधनको बाँडफाँड, तथा भौगोलिक सुगमतालाई आधार बनाउनुपर्ने तर्क गरिएको छ । राजनीतिक र प्रशासनिक पाटोलाई मात्र नहेरी समुदायको चाहना र जनताको भावनालाई समेत ध्यान दिनुपर्नेमा सरोकारवालाहरूको जोड छ ।
