अछाम प्रहरीको मासिक प्रगति सार्वजनिक: १५ मुद्दा दर्ता, १३२ छाउगोठ भत्काइयो

मंगलसेन । जिल्ला प्रहरी कार्यालय अछामले आर्थिक वर्ष २०८२/०८३ को जेठ महिनामा सम्पादन गरेका विभिन्न कार्य तथा गतिविधिहरूको प्रगति विवरण सार्वजनिक गरेको छ । कार्यालयले अपराध अनुसन्धान, शान्ति सुरक्षा, र सामुदायिक क्रियाकलापहरूमा हासिल गरेका उपलब्धिहरू सार्वजनिक गरेको हो ।

अपराध अनुसन्धान र कानुनी कारबाही अन्तरगत जेठ महिनामा कुल १५ वटा मुद्दा दर्ता भएका अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक अमप्रकाश खनालले जानकारी दिनुभयो । जसमा ज्यान सम्बन्धी तीन, आत्महत्या तीन, चोरी एक, सङ्गठित तथा आर्थिक अपराध एक, सामाजिक अपराध तीन, महिला तथा बालबालिका सम्बन्धी दुइ र सवारी ज्यान सम्बन्धी दुइ वटा रहेका छन् । यस्तै जघन्य तथा गम्भीर प्रकृतिका अपराधतर्फ बैङ्किङ कसुरमा एक र ठगीमा तीन गरी ४ वटा मुद्दा दर्ता भएका छन् ।

प्रहरीले यस अवधिमा १६ जना फरार प्रतिवादीहरूलाई पक्राउ गर्न सफल भएको छ भने ६ जना अझै फरार रहेका प्रहरी प्रमुख खनालको भनाइ छ । फैसला कार्यान्वयनतर्फ २ जना पक्राउ गरी उनीहरूबाट २ दिनको कैद र ६ लाख २५ हजार ६ सय ११ रुपैयाँ जरिवाना असुल गरिएको छ । दुई वर्षभित्र फर्स्यौट गर्नुपर्ने ९६ वटा मुद्दाहरूमध्ये यस महिना २३ वटा फर्स्यौट भएका अछाम प्रहरीको भनाइ छ ।

महिला, बालबालिका र सामाजिक सुरक्षा महिला तथा बालबालिका विरुद्धका तीन वटा मुद्दा दर्ता भएका छन् भने हराएका तीन महिला र तीन बालबालिका गरी छ जनालाई नै फेला पारी आफन्तको जिम्मा लगाइएको छ । घरेलु हिंसा सम्बन्धी परेका २६ वटा उजुरीहरूमा प्रहरीले सबैमा मिलापत्र गराएर घर पठाएको छ । यस्तै प्रहरी कार्यालयमा सिधै परेका दुइ वटा ठाडो उजुरीहरू पनि फर्स्यौट भएका प्रहरी निरीक्षक रूद्रराज कडेँलको भनाइ छ ।  

यस महिना तीन जनाले आत्महत्या गरेका छन्, जसमा दुइ पुरुष र एक बालिका रहेका छन् । जसमा उमेर समूह अनुसार हेर्दा २१ देखि ३०, ४१ देखि ५० र ५० वर्ष माथिका १-१ जना रहेका छन् ।

जेठ महिनामा ट्राफिक प्रहरीले सक्रियतामा जेठ महिनामा सवारी कारबाहीबाट ८९ हजार रुपैयाँ राजस्व संकलन गरिएको बताइएको छ । जिल्लामा जेठ महिनामा मात्रै नियम विपरित चलेका एक सय वटा सवारी साधनमाथि कारबाही गरिएको अछाम प्रहरीले जानकारी दिएको छ । यस अवधिमा चार वटा सवारी दुर्घटना भएकोमा तीन जनाको मृत्यु र ११ जना घाइते भएका छन् । सवारी दुर्घटना न्यूनीकरणका लागि सात ठाउँमा होर्डिङ बोर्ड राखिएको र नम्बर प्लेट स्पष्ट नभएका ६७ सवारी साधनलाई नयाँ नम्बर प्लेट हाल्न लगाइएको छ ।

खेतबारीमा बालेको आगो सल्किन गई भएको आगलागीमा एक दुइ वर्षीया बालिकाको मृत्यु भएको छ । हावाहुरीका कारण दुइ जना घाइते भएका छन् भने ३२ वटा भेडा र एक कुकुरको मृत्यु भएको छ । आगलागी र हावाहुरीका घटनामा क्रमशः २० र १५ जना प्रहरी जनशक्ति परिचालन गरिएको थियो । यस्तै, अछाम, बान्नीगढी जयगढ र मेल्लेखका विभिन्न आगलागीका घटनामा कुल ३७ जना प्रहरी उद्धारमा खटिएका थिए । विपद् व्यवस्थापन र उद्धार विपद्का घटनाहरूमा अछाम प्रहरी सक्रिय उद्धार कार्य जारी राखेको छ ।

अपराध न्यूनीकरण र सामुदायिक प्रयास प्रहरीले ‘समुदाय-प्रहरी साझेदारी कार्यक्रम’ अन्तर्गत जिल्लाका विभिन्न स्थानमा गरेर एकसय १८ वटा सचेतनामूलक कार्यक्रमहरू सम्पन्न गरेको छ । मर्यादित महिनावारी अभियान अन्तर्गत जिल्लाभर १३२ वटा छाउ गोठहरू भत्काइएको र १२ वटा स्थानमा सचेतना कार्यक्रमहरू सञ्चालन गरिएको छ । विद्यालय केन्द्रित २६ वटा कार्यक्रममा एक हजार ७० जना र समुदाय केन्द्रित एकसय पाँच वटा कार्यक्रममा दुइ हजार १०४ जना सहभागी भएका बताइएको छ ।

यस महिना प्रहरीले नागरिकताका लागि १२ वटा र अन्य १० वटा गरी कुल २२ वटा मुचुल्काहरू तयार गरेको छ । प्रहरीको हटलाइन र ड्युटी अफिसरको नम्बरमा कुल एकहजार ४७८ वटा फोनहरू आएका थिए भने कार्यालयबाट ३७५ जना सेवाग्राहीले सेवा लिएका छन् ।

प्रहरी कर्मचारीहरूको मनोबल वृद्धिका लागि उत्कृष्ट काम गर्ने दुइ जनालाई पुरस्कृत गरिएको छ भने तीन पटक ‘नेचर वाक’ को आयोजना गरिएको छ । पूर्वाधार विकासतर्फ पञ्चदेवल विनायक नगरपालिकाको सहयोगमा बारलामा ३० लाख लागतमा चार कोठे भवन र १० लाख लागतमा नागरिक सहायता कक्ष निर्माण गरिएको छ । साथै विभिन्न प्रहरी कार्यालयका परिसरहरूमा फलफूलका बिरुवा रोप्ने र सौन्दर्यीकरण गर्ने कार्यहरू समेत भएका अछाम प्रहरीको चनाइ छ ।

अछाम प्रहरीले अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम गर्न अझै सशक्त रूपमा काम गर्ने प्रतिबद्धता जनाएको प्रहरी निरीक्षक कडेलको भनाइ छ ।

 

हेर्नुस् अछाम प्रहरीको प्रतिवेदन 

 

सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page

error: Content is protected !!