अछाम । मंगलसेन नगरपालिकाका विभिन्न वडाका धामी, पूजारी तथा धार्मिक अगुवाहरू सामाजिक कुरीति अन्त्यका लागि एकमत भएका छन् । उनीहरूले बालविवाह, छाउपडी तथा महिनावारीसँग जोडिएका विभेदकारी प्रथाविरुद्ध समुदायमा सकारात्मक सन्देश फैलाउन आफूहरू सक्रिय रहेको बताएका छन् ।
सेफ गर्ल परियोजनाको आयोजनामा मंगलसेनमा सम्पन्न “सामाजिक कुरीति अन्त्यसम्बन्धी सचेतनामूलक अन्तरक्रिया” कार्यक्रममा सहभागी धार्मिक अगुवाहरूले पछिल्लो समय गाउँसमाजमा यस्ता कुप्रथा क्रमशः घट्दै गएको उल्लेख गर्दै त्यसमा चेतनामूलक कार्यक्रम र धार्मिक अगुवाहरूको भूमिकाले प्रभाव पारेको बताए ।
कार्यक्रममा महिनावारी व्यवस्थापनको वर्तमान अवस्था, छाउपडी प्रथाको प्रभाव तथा सुधारका प्रयासबारे व्यापक छलफल गरिएको थियो । सहभागीहरूले समाजमा अझै पनि कतिपय धार्मिक मान्यता र परम्पराका कारण छाउपडी तथा बालविवाहका अवशेष बाँकी रहेकाले धार्मिक अगुवाहरू सचेत भई समुदायमा सही सन्देश दिन आवश्यक रहेको धारणा राखे ।
सेफ गर्ल परियोजनाकी कार्यक्रम संयोजक गौरी भण्डारीले धार्मिक अगुवा तथा धामीझाँक्रीहरू समाजमा प्रभावशाली व्यक्तित्व भएकाले उनीहरूबाट सकारात्मक सन्देश प्रवाह भए समाज रूपान्तरणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले परियोजनाले निरन्तर रूपमा यस्ता सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।
कार्यक्रममा सहभागी अधिकांश धामी तथा पूजारीहरूले विगतको तुलनामा समाजमा सकारात्मक परिवर्तन आएको उल्लेख गर्दै आफूहरू पनि अब कुरीतिविरुद्ध खुलेर बोल्न थालेको बताए । यस्ता तालिम तथा गोष्ठीले आफूहरूलाई थप सचेत र सकारात्मक बनाउन सहयोग पुगेको उनीहरूको भनाइ थियो ।
मंगलसेन नगरपालिकाका प्रमुख पदमबहादुर बोहराले धामीझाँक्रीहरू समुदायका अगुवा र सम्मानित व्यक्तित्व भएकाले सामाजिक कुरीतिविरुद्ध आवाज उठाउन उनीहरूको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । उहाँले अझै पनि समुदायमा धामीझाँक्रीको प्रभाव रहेकाले आफ्नो पेशालाई मर्यादित र जिम्मेवार बनाउन आवश्यक रहेकोमा जोड दिनुभयो ।
कार्यक्रममा सहभागी अन्य सरोकारवालाहरूले पनि सामाजिक सुधारका लागि यस्ता कार्यक्रमलाई आगामी दिनमा निरन्तरता दिनुपर्ने सुझाव दिएका थिए ।
