बसमा अचेत भेटिएका युवकको वयालपाटामा मृत्यु
मंगलसेन । धनगढीबाट बाजुरातर्फ जाँदै गरेको बसमा अचेत फेला परेका व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिका–७ कोल्टीका अन्दाजी २३ वर्षीय किरण सिंह रहेका अछाम प्रहरीले जानकारी दिएको छ ।
बाजुरातर्फ जाँदै गरेको सु.प.प्र.०१–००१ ख ३७९२ नम्बरको बसलाई बिहान ६ः४५ बजे साँफेबगर नगरपालिका–१० घुघुरकोट ठाँटीबजार नियमित परीक्षण गर्ने क्रममा अन्तिम सिटमा बसेका एक युवक घोप्टो परी अचेत अवस्थामा भेटिएका अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्ष ओमप्रकाश खनालले जानकारी दिनुभयो ।
अचेत भएको फेला परे लगत्तै सिंहलाई सोही बसमार्फत उपचारका लागि प्रादेशिक अस्पताल बयलपाटा ल्याएकोमा अस्पताल पु¥याए लगत्तै चिकित्सकले मृत घोषणा गरेको बताइएको छ । मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल मंगलसेन ल्याएको र घटनाबारे थप अनुसन्धान भइरहेको अछाम प्रहरीले जनाएको छ ।
