सुदूरपश्चिमको समग्र विकासमा प्रदेश सरकार केन्द्रितः मुख्यमन्त्री शाह
अछाम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले यस क्षेत्रको समग्र विकासमा प्रदेश सरकार क्रियाशील भएको बताउनुभएको छ । अछाम जिल्ला सभाको उद्घाटनका क्रममा मुख्यमन्त्री शाहले नीतिगत र भौतिक विकासका लागि प्रदेश सरकारले संघीय र स्थानीय सरकारसँगको समन्वयमा अघि बढिरहेको भनाई राख्नुभयो ।
कर्णाली करिडोर, ताक्लाकोट, उरै भञ्ज्याङ, सेती लोकमार्ग लगायतका सुदूरपश्चिमका गौरवका योजनाहरुका बारेमा आफूले प्रधानमन्त्री र संघीय मन्त्रिपरिषद्सँग कुरा गरिरहेको भनाई शाहको भनाई छ । माथिल्लो कर्णाली, सेती जलविद्युत र बेतान कर्णाली जलविद्युत जस्ता आयोजनाको काममा केन्द्रित हुनुपर्ने उल्लेख गर्नुभयो । बेतान कर्णाली जलविद्युत आयोजनामा विभिन्न बाहानाम अन्तै लैजाने खेल भएको आफूले पाएको मुख्यमन्त्री शाहको भनाई छ । ‘भ्रममा राख्ने, गुमराहमा राख्ने वातावरण निर्माण गर्नेगरी कुराहरु उठाइएका छन् ।’ मुख्यमन्त्री शाहले थप्नुभयो– ‘म सुन्दैछु कर्मचारी सञ्चय कोषको लगानीलाई अन्त डाइभर्ड गर्न खोजिदैछ ।’ कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको अछाम जिल्ला बीचमा भएर बग्ने कर्णाली नदीमा कर्मचारी सञ्चयकोषको लगानीमा ४३९ मेगावाट विद्युत निकाल्ने तयारी छ ।
प्रदेशबाट स्थानीय तहमा हस्तान्तरण हुने २५ लाख भन्दा तलको वित्तिय हस्तान्तरणले योजना छनौट, वर्गिकरण, बजेट विनियोजन र कार्यान्वयनमा सहजता ल्याउने भनाई राख्नुभयो । वर्तमान आयोजनाका बारेमा प्रत्येक बजेट शीर्षकका बारेमा स्थानीय तहलाई प्रमुख जिल्ला अधिकारीमार्फत निर्देशन दिनुभयो । सुदूरपश्चिम प्रदेशको निजामति कर्मचारी ऐन आइसकेकोले आउँदो मन्त्रिपरिषद्ले नियमावली निर्णय हुने भनाई राख्नुभयो । यस्तै स्थानीय सेवा सञ्चालन सम्बन्धी ऐनको विधेयकको प्रक्रिया रोकिएकोले यसै महिनाको सदनमा निर्णय हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
जिल्लामा सभामा अछाम १ का प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री शेर बहादुर कुँवर, अछाम २ का प्रतिनिधिसभा सदस्य पुष्प बहादुर शाह, सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्का, प्रदेशसभा सदस्य मान बहादुर रावलले शुभकामना मन्तव्य राख्नुभयो । मन्तव्य राख्ने संघीय र प्रदेश सभा सदस्यले समन्वय र सहकार्यसँगै आवश्यकताका आधारमा विकास निर्माणमा काम गर्नुपर्ने भनाइ राख्नुभएको थियो । यस्तै मंगलसेन नगरपािलका प्रमुख पदम बहादुर बाेहरा, पञ्चदेवल विनायक नगर प्रमुख अम्बिका चलाउने, साँफेबगर नगरपालिका प्रमुख राजेन्द्र बहादुर कुँवर, र उपप्रमुख शिव बहादुर कुँवर, कमलबजार नगरपालिका प्रमुख यज्ञराज ढकाल र उपप्रमुख शारदा विष्ट, मेल्लेख गाउँपालिका प्रमुख ज्वाला सिंह साउँद, प्रमुख जिल्ला अधिकारी शिव प्रसाद लम्साल, मुख्यमन्त्री शाहका राजनीतिक सल्लाहकार डा. जितु उपाध्यायले मन्तव्य राख्नुभएकाे थियाे ।
प्रदेशको बजेट विनियोजनमा पालिका प्रमुखहरु कडा रुपमा प्रस्तुत भएपछि मुख्यमन्त्री शाहले छलफलबाट आगामी दिनमा सच्चाउन सकिने बताउनुभयो । बजेट वितरणमा असमानता भएको, झ्यालबाट योजना आएका, प्रदेश र संघका कार्यक्रममा समन्वय नभएको, निजामति ऐन, पालिकाले पठाएका भन्दा अर्कै योजना आउने गरेकोमा असन्तुष्टि राखेका थिए । स्थानीय सरकार र प्रदेश सरकार बीचमा नीतिगत र बजेट तथा कार्यक्रममा समन्वयको अभाव भएको पालिका प्रमुखहरुको भनाई थियो ।
जिल्ला समन्वय समितिका प्रमुख ललित बहादुर कुँवरकाे अध्यक्षतामा सम्पन्न जिल्ला सभाकाे सञ्चालन कुँवरका कानुनी सल्लाहकार पुष्पराज शर्माले गर्नुभएको थियाे । कार्यक्रमका अथितिलाइ जिसस अछामका सदस्य द्वारिका प्रसाद उपाध्यायले स्वागत गर्नुभएको थियो ।