बोयलर कुखुराको मासु खाएर एकको मृत्यु, एकै घरका तीन गम्भीर बिरामी

अछाम । बोयलर कुखुराको मासु खाँदा अछाममा एक किशोरको ज्यान गएको छ । भने एकै परिवारका तीन जना गम्भीर बिरामी परेका छन् । मृत्यु हुनेमा कमलबजार नगरपालिका–३ बयलाका निवासी १५ वर्षीय कमल विक रहेका हुन् । मृतकका बज्यै ७० वर्षीया नाम विक, बहिनी १४ वर्षीय सीता विक र नौ वर्षीय विकास विक गम्भीर घाइते भएको अछाम प्रहरीले जानकारी दिएको छ । बिरामीको जिल्ला अस्पताल मंगलसेनमा उपचार भइरहेको छ ।
गाउँ नजिक रहेको बेलखेत बजारबाट मरेको बोइलर कुखुरा कमलले ल्याएर शुक्रबार बेलुकी नपकाएर खाएपछि बिरामी भएर कमलको मृत्यु र अन्य तीन जना गम्भीर घाइते भएको वडा अध्यक्ष नन्दसिंह कुँवरले जानकारी दिनुभयो । अस्ति शुक्रबार बेलखेतबाट मरेको बोयलर कुखुरा ल्याएर नपकाएर खाएछन् अनि हामीले आज थाहा पायौं त्यो केटालाई बचाउन सकिएन । वडा अध्यक्ष कुँवरले भन्नुभयो ।
घटनाका बारेमा थप अनुसन्धान भइरहेको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक इश्वरी प्रसाद भण्डारीले जानकारी दिनुभयो । मृततको शवको पोष्टमार्टमका लागि सदरमुकाम मंगलसेन ल्याइएको छ । मृतकका बुवा आमा र जेठो दाई रोजगारीका क्रममा भारतमा रहेका छन् ।