मानव अधिकार वर्ष पुस्तकको पूर्व समीक्षा मंगलसेनमा सम्पन्न

अछाम । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व जिल्लामा वार्षिक समीक्षा कार्यक्रम अछाम सदरमुकाम मंगलसेनमा सम्पन्न भएको छ । जिल्ला समन्वय समितिका प्रमुख ललित बहादुर कुँवरको प्रमुख आतिथ्यतामा पुस्तकको पूर्व समीक्षा गरिएको हो ।

अनाैपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) अछामले एक वर्षको अवधिमा अछाममा भएका मानव अधिकार सम्बन्धी घटनाहरु र जिल्लाको समग्र मानव अधिकारको अवस्थाका बारेमा समीक्षा गरिएको छ । एक वर्षको अवधिमा इन्सेकमा अभिलेख गरिएका ८५ मान अधिकार सम्बन्धी घटनाहरु र जिल्लाको अन्य अवस्थाका बारेमा जनप्रतिनिधि, प्रशासन, प्रहरी, सरकारी वकिल, अधिवक्ता र पत्रकारहरुका बीचमा छलफल गरिएको हो ।

समीक्षा कार्यक्रममा जिल्ला समन्वय समिति अछाका प्रमुख ललित बहादुर कुँवरले मानवअधिकारको प्रत्याभूति, संरक्षण र प्रवद्र्धनका लागि राज्यका हरेक निकाय र व्यक्तिले सक्रिय हुन पर्ने भनाइ राख्नुभयो । उहाँले अधिकारप्रति व्यक्तिलाई सचेत पार्ने, अधिकार प्रत्याभूति र उपभोग गर्ने, कर्तव्य पालना गर्नपर्ने भनाई राख्नुभयो । कृषि उत्पादनमा जोड दिएर आर्थिक आर्जन थालनी भएमा व्यक्तिको अधिकार र कर्तव्य पूरा हुने भनाई राख्नुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिव प्रसाद लम्सालले राज्यका हरेक निकायले मानव अधिकारको प्रत्याभूतिमा सरकारी निकाय क्रियाशील रहेको भनाइ राख्नुभयो । मानव अधिकार आर्थिक सक्षमता पनि जोडिने भएकोले रोजगारीमुलक काममा संलग्न भएमा अधिकार सुरक्षित हुने भनाई राख्नुभयो । जिल्लामा मानव अधिकारको अवस्था हाल सन्तोषजनक रहेको भन्दै आफूहरु यसप्रति सजग रहेको उहाँको भनाइ छ ।

जिल्ला सरकारी कार्यालय, अछामका न्यायाधिवक्ता हरिस प्रसाद भट्टले मानव अधिकारको रक्षाका लागि हरेक व्यक्तिका सचेतना जागरुकता र कानुनी ज्ञानसँगै त्यसको उपयोग आवश्यक भएको भनाइ राख्नुभयो । आफ्नो कार्यालयले कानुनी ज्ञानलगायत सचेतनाका काम गरिरहेको भएपनि समाज अझै कानुनी अलमलमा रहेको भनाइ राख्नुभयो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक टेक बहादुर देउवाले पीडित शुरुमा निकै उत्साहित भएर उजुरी गरेपनि बीचमा होस्टाइल हुने भनाइ राख्नुभयो । उहाँले प्रहरीले मानव अधिकारको प्रत्याभूतिलाई प्राथमिकतामा राखेकोले घटनाको अनुसन्धानदेखि अभियोजन, अपराध नियन्त्रणमा मानव अधिकारमैत्री काम गरिरहेको भनाइ राख्नुभयो ।

तुर्माखाँद गाउँपालिकाका पूर्व अध्यक्ष पुष्पराज शर्माले स्थानीय तहलाई समेत अर्धन्यायिक अधिकार दिएको भएपनि त्यसको प्रभावकारी काम हुन नसकेको भनाई राख्नुभयो । न्यायिक समितिको काम कर्तव्य अधिकार र त्यसको प्रभावकारिताका लागि इन्सेकले पनि सहजिकरण गर्न आवश्यक देखिएको उहाँको भनाइ छ । पत्रकार पुजा शाहीले महिला पीडितले कानुनी रुपमा न्याय पनि सामाजिक रुपमा सहज जीवन नभएको भनाई राख्नुभयो ।

छलफलका क्रममा जिल्ला समन्वय समितिका प्रमुख ललित बहादुर कुँवर, प्रमुख जिल्ला अधिकारी शिव प्रसाद लम्साल, जिल्ला न्यायाधिवक्ता हरिस प्रसाद भट्ट, प्रहरी निरीक्षक टेक बहादुर देउवा, बार एसोसिएसन अछामका सचिव गणेश प्रसाद ढुंगाना, तुर्माखाँद गाउँपालिकाका पूर्व अध्यक्ष पुष्पराज शर्मा, पत्रकार पुजा शाही लगायतको सहभागिता रहेको थियो ।

हरेक जिल्लामा मानव अधिकार सम्बन्धी घटना संकलन गरेर इन्सेकले हरेक वर्ष वर्ष पुस्तक प्रकाशन गर्दै आइरहेको छ । ३३ वर्षदेखि इन्सेकले मानव अधिकार सम्बन्धी पुस्कक हरेक वर्ष निरन्तर रुपमा प्रकाशित गर्दै आइरहेको छ ।

Mangalsen Ward
सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page