पूर्व विद्यार्थीबाट क्याम्पसलाई दर्जनाै पुस्तक सहयोग, शाहद्वारा क्याम्पस अवलोकन
अछाम । विद्यार्थीलाई अध्ययनमा सहजताका लागि एक पूर्व विद्यार्थीले अछाम बहुमुखी क्याम्पसमा पुस्तक सहयोग गर्नुभएको छ । हाल अमेरिकाको टेक्सासमा रहनुहुने मंगलसेन नगरपालिका–३ घर भएका कर्णबहादुर बोगटीले क्याम्पसमा पुस्तक हस्तान्तरण गर्नुभएको हो ।
सामान्य ज्ञान, ज्ञान, विज्ञान लगायतका दर्जनौ पुस्तक एक कार्यक्रमका बीचमा क्याम्पसलाई पुस्तक हस्तान्तरण गर्नुभएको हो । अछाम बहुमुखी क्याम्पस हलमा एक औपचारिक कार्यक्रमको आयोजना गरेर पुस्तक हस्तान्तरण गर्नुभएको हो । पुस्तक हस्तान्तरणका क्रममा मंगलसेन नगरपालिकाका प्रमुख तथा क्याम्पस व्यवस्थापन समिति अध्यक्ष पदम बहादुर बोहराले समाजको विकासका लागि हरेक व्यक्तिले आफ्नो दायित्व पूरा गर्नुपर्ने भनाइ राख्नुभयो ।
अध्यक्ष बोहराले मिहनेत गरेर बोगटी अमेरिका पुगेपनि आफ्नो गाउँघरमा गरेको सहयोगप्रति आभार व्यक्त गर्दै सबैले आफ्नो ठाउँको विकासमा साझेदारी र सहयोग गर्न आग्रह गर्नुभयो । पुस्तक हस्तान्तरणका क्रममा बोगटीले आफ्नो सफलताको जग अछाम बहुमुखी क्याम्पस भएकोले विद्यार्थीको हितका लागि पुस्तक सहयोग गरेको बताउनुभयो । बोगटीले हरेकले लक्ष्य निर्धारण गरेर योजनाबद्ध रुपमा काम गर्दा सफलता पाइने भनाइ राख्नुभयो ।
क्याम्पसका निमित्त क्याम्पस प्रमुख मान बहादुर बुढाको अध्यक्षतामा पुस्तक हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम समापनका क्रममा बुढाले बोगटी लगायत अन्य सबै पक्षबाट क्याम्पसलाई सहयोगको अपेक्षा रहेको भनाई राख्नुभएको थियो । पुस्तक हस्तान्तरणका कार्यक्रममा पूर्व क्याम्पस प्रमुख छत्र बहादुर विष्ट र नृप बहादुर चाड, मंगलसेन बजार व्यवस्थापन समिति अध्यक्ष गोविन्द बाेगटीसहित क्याम्पसका प्राध्यापकहरु, कर्मचारी र विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन प्राध्यापक झपट कुमार केसीले गर्नुभएको थियो ।
यस्तै अछाम बहुमुखी क्याम्पसका संस्थापक क्याम्पस प्रमुख तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष जनक राज शाहले क्याम्पसको अवलोकन गर्नुभएको छ । शाहले क्याम्पसको शैक्षिक र प्रशासनिक विकासका बारेमा जानकारी लिनुभएको हो । शाहलाई अछाम क्याम्पसले दोसल्ला, टीका लाएर निमित्त क्याम्पस प्रमुख मान बहादुर बुढा, पूर्व क्याम्पस प्रमुख छत्र बहादुर विष्ट, प्रशासकीय प्रमुख उदयराज ढुंगाना लगायतले क्याम्पसमा स्वागत गर्नुभएको हो । २०४८ सालमा स्थापना भएको अछाम बहुमुखीको पहिलो क्याम्पस प्रमुख शाह नियुक्त हुनुभएको थियो ।