भाइटीकाको साइत बिहान ११:३७ मा, अन्य समयमा पनि टीका लगाइने
तिहारको पाँचौं दिन आज भाइटीका । नेपालमा दिदीबहिनीहरूले दाजुभाइलाई दीर्घायु, स्वास्थ्य, र सम्पन्नताको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाउने विशेष पर्व हो। कार्तिक शुक्ल द्वितीयाको दिन मनाइने यो पर्वमा दाजुभाइ र दिदीबहिनीहरूले परस्परमा टीका लगाइदिन्छन् र पूजा गरेपछि मखमली, सयपत्री वा गोदावरीको माला पनि पहिराइन्छ। यस दिनलाई यमद्वितीया पनि भनिन्छ, जसमा पूजा गर्नेले सौभाग्य र ऐश्वर्य प्राप्त गर्ने शास्त्रीय मान्यता रहेको छ।
यस वर्ष भाइटीकाका लागि साइत खोज्नेहरूका लागि बिहान ११:३७ बजेको अभिजित् मुहूर्त उत्तम मानिएको छ। साथै, भाइटीका लगाइदिने पूर्व फर्केर र लगाइने व्यक्तिले पश्चिम फर्केर बस्नुपर्ने समितिले सिफारिस गरेको छ, जसमा चन्द्रमालाई दाहिने पार्नुपर्ने शास्त्रीय नियम पनि पालन हुन्छ। टीका लगाएपछि दिदीबहिनीहरूले दाजुभाइलाई ओखर, कटुस, मरमसला, र सेलरोटी दिने परम्परा छ, जबकि दाजुभाइले दिदीबहिनीलाई कपडा र दक्षिणा दिएर सम्मान प्रकट गर्छन्।
दिदीबहिनी वा दाजुभाइ नभएकाहरूका लागि काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर र जयवागेश्वरीको खञ्जनेश्वर महादेव मन्दिरमा विशेष पूजा र टीका लगाउने प्रचलन छ। बालगोपालेश्वर मन्दिर वर्षमा केवल आजकै दिन खोलिन्छ। यसै दिन नेवार समुदायले भाइटीकालाई किजापूजाका रूपमा पनि मनाउँछन्।