उम्मेदवारको घरदैलो अभियानः मत माग्न घरखेतमै

शिवराज ढुंगाना । आसन्न निर्वाचनमा अछामका उम्मेदवारहरु मत माग्न सर्वसाधारणका घरखेतमै पुग्न थालेका छन् । घरखेतको काममा व्यस्त रहेका व्यक्तिसम्मै पुगेर आफ्ना योजना सुनाएर मत माग्न थालेका हुन् ।
उम्मेदवारसहितको टोलीले आफनो पार्टीलाई विजयी गराएमा रोजगारी, सडक, पुलपुलेसा, खानेपानी, गुणस्तरीय शिक्षा प्रदान गर्ने भन्दै मत माग्न थालेका हुन् । घरदैलो भेटघाटको योजना बनाएर बारीको धान, कोदो भित्र्याउने र खेतगह्रा खनजोतमा रहेका कृषकमा पुगेर मत माग्न थालेका हुन् । उम्मेदवारहरु मत माग्दै कृषकरुसँग धान चुट्ने, जोत्ने काममा एकछिन सहयोग समेत गर्न थालेका दृष्यहरु पनि देखिएका छन् । निर्वाचन आयोगले उम्मेदवारको प्रचार–प्रसार अभियानमा नारा, जुलुस, सभा, समारोह र आमसभा गर्न मतदान हुने दिनअघिको १७ दिन मात्रै गर्न पाउने नियम बनाएपछि यतिबेला उम्मेदवार घरदैलो अभियानमा व्यस्त छन् ।
सत्ता गठबन्धन, नेकपा (एमाले), राप्रपा, नेमकिपा र स्वतन्त्र उम्मेदवारहरु फरक फरक स्थानमा चुनावी प्रचारको क्रममा घरदैलो भेटघाटमा व्यस्त रहेको छन् । गठबन्धनबाट अछाम–१ को प्रतिनिधिसभा सदस्यका उम्मेदवार श्रम, रोजगार तथा सामाजिक मन्त्रीको टोली गाउँघरमा मत माग्न व्यस्त भएको छ । सोही क्षेत्रमा एमालेबाट प्रतिनिधिसभा सदस्यका उम्मेद्वार पूर्वप्रदेश मन्त्री झपटबहादुर बोहरा र प्रदेशका उम्मेदवारपनि घरदैलो अभियानमा रहेका छन् ।
अछाम–१ मा सत्ता गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार श्रममन्त्री शेरबहादुर कुँवरले आफ्नै गृह पालिका चौरपाटीबाट घरदैलो भेटघाट थालनी गर्नुभएको छ । सोही क्षेत्रको प्रतिनिधिसभाका उम्मेदवार पूर्वप्रदेश मन्त्री झपटबहादुर बोहराले रामारोशन गाउँपालिकाबाट घरदैलो भेटघाटबाट मत माग्न थाल्नुभएको छ । अछाम–१ कै स्वतन्त्र उम्मेदवार रहेका राजन कुँवर बिरामी भएर जिल्ला बाहिर रहेकाले सामाजिक सञ्जालबाट मत मागिरहनुभएको छ ।
एमालेबाट अछाम–२ को प्रतिनिधिसभाका उम्मेद्वार रहेका निवर्तमान सांसद यज्ञबहादुर बोगटी र प्रदेशसभाका उम्मेदवार शिवप्रसाद उपाध्यायले कमलबजार भएर ढकारी गाउँपालिकामा मत मागिरहेका छन् । सोही निर्वाचन क्षेत्रका गठबन्धनबाट पुष्पबहादुर शाह र प्रदेशसभा सदस्यका उम्मेदवार मानबहादुर रावलले पनि मंगलसेन हुँदै ढकारीमा घरदैलो अभिायनमा छन् । अछाम–२ को प्रतिनिधिसभाका स्वतन्त्र उम्मेदवार चन्द्रप्रसाद ढुंगाना, नेमकिपाका झंकरबहादुर शाही, राप्रपाका मिनबहादुर शाहीपनि मतदाता भेटघाटमा रहेका छन् ।
प्रतिनिधिसभा सदस्यका उम्मेदवारसँगै प्रदेशसभा सदस्यका उम्मेदवार र समानुपातिकतर्फका उम्मेदवारपनि मत माग्न व्यस्त रहेका छन् । घरदैलो टोलीमा दलका नेताहरुसमेत रहने गरेका छन् । निर्वाचन क्षेत्र अनुसार घरदैलो भेटघाटको तालिका नै बनाएर उम्मेदवारसहितको टोली रहेको एमाले अछामका सचिव भीमबहादुर रावलले जानकारी दिनुभयो । प्रतिनिधिसभाका दुई वटै र प्रदेशका चारवटै क्षेत्रमा गठबन्धन दलहरु चुनावी भेटघाटको क्रममा रहेको काँग्रेस अछामका सहसचिव दिनेशकुमार स्वारले जानकारी दिनुभयो ।
प्रतिनिधिसभामा दुई निर्वाचन क्षेत्र रहेको अछाममा तीन स्वतन्त्रसहित नौ जनाले मनोनयन दर्ता गर्नुभएको छ । यस्तै चार प्रदेशसभा रहेको अछाममा एक स्वतन्त्रसहित दश जनाको उम्मेदवारी परेको छ ।