होटल बेलुकी नौ बजेसम्म मात्र सञ्चालन गर्न पाइने
अछाम । मंगलसेनमा होटल (गेष्ट हाउस) र व्यवसाय बेलुकी नौ बजेसम्म मात्र सञ्चालन गर्न पाइने भएको छ । निर्वाचनसँगै शान्ति सुरक्षा कायम गर्ने भन्दै पसलहरु बेलुकी ८ बजे र होटलहरु बेलुकी ९ बजेसम्म मात्र सञ्चालन गर्न पाइने भएको छ । गेष्ट हाउसले आफ्ना ग्राहकको विवरण समेत राख्नुपर्ने बैठकमा छलफल गरिएको छ ।
मंगलसेन नगरपालिकामा सम्पन्न बैठकले मदिरा बन्द तथा व्यवस्थापन, पसल र होटल सञ्चालन, निर्वाचन आचारसंहिता पालना गर्ने निर्णय गरिएको छ । आउँदो निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाउनेसँगै शान्ति सुरक्षा र अपराध नियन्त्रणका लागि यस्तो निर्णय गरिएको बताइएको छ । बैठकले निर्वाचन आचारसंहिताको पूर्ण पालना, निर्वाचनमा आवश्यक सहयोग र मंगलसेन नगरपालिकाका अवरुद्ध सडकहरु खुलाउने निर्णय गरिएको छ ।
बैठकमा नगरपालिका प्रमुख पदमबहादुर बोहराले सबैले निर्वाचनलाई सफल रुपमा सम्पन्न गराउन र शान्ति, सुरक्षा कायम गर्नमा सबैको साथ र सहयोग आवश्यक भएको बताउनुभयो । उहाँले नीति, नियम र कानुनको सबैले पालना गर्नुपर्ने भन्दै मदिरा बेचबिखन र सेवनमा ध्यान दिनपर्ने भनाइ राख्नुभयो । बैठकमा प्रमुख जिल्ला अधिकारी रामदत्त पाण्डेले जिल्लाको शान्ति सुरक्षामा आफुले विशेष ध्यान दिएको भन्दै निर्वाचनका क्रममा विशेष सुरक्षा योजना भएको बताउनुभयो । बैठकममा जिल्ला निर्वाचन कार्यालयका प्रमुख कृष्णसिंह नायकले निर्वाचन आचारसंहिताका बारेमा जानकारी गराउनुभएको थियो ।
बैठकमा नगरपालिकामा उपप्रमुख संगीता रावल सोडारी, तीनवटै सुरक्षा निकाय, वडा अध्यक्ष, उद्योग बाणिज्य संघ, मंगलसेन बजार व्यवस्थापन, होटल व्यवसायी र सरोकारवाला निकायको सहभागिता थियो । बैठकको सञ्चालन मंगलसेन नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खकेन्द्रबहादुर सोडारीले गर्नुभएको थियो ।
मदिरा बेचविखन तथा सेवन, होटल तथा व्यवसाय सञ्चालन, आचारसंहिता पालना र आवश्यक सहयोगका बारेमा अन्य स्थानीय तहमा निर्णय भएको बताइएको छ ।