स्वास्थ्य कार्यालयको वार्षिक समीक्षा सम्पन्न

मंगलसेन । वर्तमानका उपलब्धि र आगामी वर्षको योजना सहित स्वास्थ्य कार्यालय अछामले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक समीक्षा सम्पन्न गरेको छ । जिल्लाका दशवटै स्थानीय तहको प्रस्तुतिसहित शनिबारदेखि सुरु भएको समीक्षा आइतबार विशेष समारोहबीच सम्पन्न गरिएको हो । 

समीक्षामा जिल्लाको समग्र स्वास्थ्य अवस्था, देखिएका चुनौती र अवसर, साथै आगामी वर्षमा प्राथमिकता दिनुपर्ने कार्यहरूबारे गम्भीर छलफल गरिएको जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख झपटराज ढुंगानाले जानकारी दिनुभयो । प्रमुख ढुंगानाका अनुसार जिल्लाका सबै १० वटै पालिकाका स्वास्थ्य संस्थाहरूको कार्यप्रगति, उपलब्धि र अवस्था मूल्याङ्कन गर्नुका साथै केही नयाँ योजनाहरू पनि तय गरिएको छ । गत वर्षका प्रतिबद्धता र सकारात्मक अभ्यासहरूको समेत पुनरावलोकन बताइएको छ ।

कार्यालय प्रमुख ढुंगानाको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अथिति मंगलसेन नगरपालिका प्रमुख पदमबहादुर बोहराले स्वास्थ्य क्षेत्रमा निरन्तर खटिने स्वास्थ्यकर्मीहरूलाई धन्यवाद दिँदै अझ प्रभावकारी सेवा दिन आग्रह गर्नुभयो । उहाँले स्वास्थ्यलाई अत्यन्त महत्वपूर्ण क्षेत्रको रूपमा व्याख्या गर्दै आवश्यक लगानीका लागि स्थानीय सरकार तयार रहेको बताउनुभयो । ढकारी गाउँपालिका अध्यक्ष प्रकाशबहादुर साउँदले जिल्लाको स्वास्थ्य सेवा सुधारका लागि स्वास्थ्यकर्मीहरूको योगदान प्रशंसनीय रहेको उल्लेख गर्दै समन्वय र सहकार्यका माध्यमबाट अझ राम्रो नतिजा प्राप्त गर्न सकिने बताउनुभयो। 

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी आनन्द सारुले स्थानीय सरकारहरू अधिकार सम्पन्न भएकाले तिनीहरूले स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गर्न सक्ने बताउनुभयो। प्रजिअले अछाममा स्वास्थ्य क्षेत्रमा सन्तोषजनक प्रगति भएको उल्लेख गर्दै सहकार्य र समन्वयकै माध्यमबाट अझ राम्रो काम गर्न सकिने धारणा राख्नुभयो । साथै, प्रदर्शनका अंकका आधारमा बजेट विनियोजन गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो । कार्यक्रममा पञ्चदेवल विनायक नगरपालिकाका उपप्रमुख हर्कबहादुर रावल, रामारोशन गाउँपालिकाका अध्यक्ष मानबहादुर साउद, तुर्माखाँद गाउँपालिकाकी उपाध्यक्ष विमला कुमारी शाही, जिल्ला समन्वय समितिका सदस्य द्धारीका प्रसाद उपाध्याय, पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष टेकबहादुर थापा लगायतका वक्ताहरूले सुझावसहितका धारणा व्यक्त गरेका थिए ।

समीक्षामा दशवटै स्थानीयले एक वर्षको अविधमा सम्पन्न गरेका स्वास्थ्य क्षेत्रका क्रियाकलाप, प्राप्त उपलब्धि, समस्या र अगामी दिनका सम्भावनाका बारेमा प्रस्तुति गरेर छलफल गरिएको छ । यस्तै समग्र जिल्लाको अवस्थाका साथै जिल्ला अस्पताल अछाम, वयलपाटा अस्पताल र स्वास्थ्य क्षेत्रमा कार्यरत गैरसरकारी संस्थाका कार्यहरूका बारेमा पनि प्रस्तुति गरिएको छ । समापनका क्रममा स्थानीय तह, गैरसरकारी संस्थाहरूलाइ सम्मान पनि गरिएको छ । 

कार्यक्रमको सञ्चालन जिल्ला स्वास्थ्य कार्यालय अछामका जनस्वास्थ्य निरीक्षक दिपेन्द्र जोशीले गर्नुभएको थियो । स्वास्थ्य कार्यालय अछामले जिल्लामा हरेक वर्ष प्रगतिको बारेमा सराेकारवाला निकायहरूका बीचमा प्रगतिहरूकाे समीक्षा गर्दै आएको छ । 

सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page

error: Content is protected !!