सडकको क्षेत्राधिकारको प्रश्नमा स्पष्ट पार्न एमाले बान्नीगढीको माग
अछाम । सडकको क्षेत्राधिकारलाई गाउँपालिका भित्र पारेको बारेमा प्रश्न उठिरहेको विषयमा नेकपा (एमाले) बान्नीगढी जयगढ गाउँपालिका कमिटीले ध्यानाकर्षण गरेको छ ।
आज एक विज्ञप्ति प्रकाशित गरेर बान्नीगढी जयगढ गाउँपालिकाले प्रशासनिक भवन निर्माणमा मापदण्ड पुर्याउने बाहानामा सडकको क्षेत्राधिकारको जग्गालाई समेत गाउँपालिकाको नाममा नामसारी गरिएको बारेमा प्रष्ट पार्नुपर्ने माग गरेको गाउँपालिका कमिटीका अध्यक्ष हर्क बहादुर साउँदको हस्ताक्षरमा उल्लेख छ ।
‘नीति नियम निर्माण गर्ने र त्यसको कार्यान्वयन गर्ने गराउने आफैमा स्वायत्त रहेको पालिका सरकारका विषयमा विभिन्न प्रश्न खडा गर्दै नागरिकहरू सडकमा आइरहेको यस अवस्थामा लाचारपन प्रस्तुत नगरी यस विषयमा भएको के हो ? भन्नेबारे यथेष्ट प्रमाण सहित आम नागरिकलाई यस विषयमा जानकारी गराउन हाम्रो पार्टी नेकपा एमाले हार्दिक अनुरोध गर्दछ ।’
सरकारको आडमा व्यक्तिगत अनुकूलता र जनहित विपरीतका कार्य गर्ने, ऐन, नियमलाई बेवास्ता गरेमा पार्टीले जनताको साथमा प्रतिवाद गर्ने भनिएको छ । दशैतिहारमा आवतजावतमा सहज गर्न गाउँपालिकाभित्रका सडक तत्काल सरसफाई गराउन अनुरोध गरिएको छ । साथै विजयादशमी तथा शुभदीपावली २०८१ को शुभकामना प्रदान गरिएको छ ।