अछाममा एमालेबाट प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारको टुंगो
शिवराज ढुंगाना, अछाम । नेकपा (एमाले) ले अछामका दुवै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार टुंग्याएको छ । एमालेको केन्द्रले अछामका छवटै निर्वाचन क्षेत्रमा उम्मेद्वार हुने व्यक्तिको नामहरू सञ्चार माध्यमबाट सार्वजनिक भएको छन् ।
अछाम-१ को प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का नेता भीम रावल अछामबाट एकल नाम सिफारिस भए । तर केन्द्रले अछाम-१ मा एमालेबाट प्रतिनिधिसभाको टिकट नपाएको खबरहरू बाहिरिएका छन् । उक्त स्थानमा संघीय समानुपातिकमा सिफारिस गरिएका एमालेका केन्द्रिय सदस्य तथा अछाम इन्चार्ज झपट बोहराले टिकट पाएका छन् । सुदूरपश्चिम प्रदेशकाे आर्थिक मामिला तथा योजना मन्त्री पद त्यागेर भएपनि बोहरा एमालेमै बसेका नेता हुन् ।
सोही क्षेत्रको प्रदेशसभा ‘क’ प्रदेशमा देवबहादुर कुँवरले टिकट पाएका छन् । भने ‘ख’ प्रदेशमा कृष्णप्रसाद जैसीले टिकट पाएका छन् । दुवै जना एमालेको सुदूरपश्चिम प्रदेश कमिटीको सदस्य हुनुहुन्छ भने जैसी जिल्ला विकास समिति अछामको पूर्वसभापित समेत हुन् ।
प्रतिनिधिसभातर्फको अछाम-२ मा भने एकल सिफारिस भएका एमाले केन्द्रिय कमिटी सदस्य तथा अछाम सहइन्चार्ज यज्ञबहादुर बोगटीले टिकट पाएका छन् । सोही क्षेत्रको प्रदेशसभा ‘क’ प्रदेशमा भीमबहादुर विष्ट टिकट पाएर चुनाव लड्ने भएका छन् भने ‘ख’ प्रदेशमा शिवप्रसाद उपाध्याय चुनाव लड्ने छन् । उपाध्याय एमालेको सुदूरपश्चिम प्रदेश कमिटी सदस्य हुन् भने विष्ट एमाले अछामका जिल्ला सदस्य हुन् ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अछामका सबै क्षेत्र वामगठबन्ध विजयी भएकाे थियो । अछाम-१ मा भीम रावल, अछाम-२ मा यज्ञ बाेगटी प्रतिनिधिसभामा विजयी भएका थिए । यस्तै अछाम-१ काे ‘क’ प्रदेशबाट एमालेका हर्कबहादुर कुँवर (गोविन्द), ‘ख’ प्रदेशमा नेकपा माओवादी केन्द्रका झपट बाेहरा विजयी भएका थिए । यस्तै अछाम-२ काे ‘क’ प्रदेशमा कपामाओवादी केन्द्रका अक्कल रावल र ‘ख’ प्रदेशमा एमालेबाट बलबहादुर साेडारी विजयी भएका थिए ।
निर्वाचन जितेका मध्येमा माओवादी केन्द्रका अक्कल रावल नेकपा माओवादी केन्द्रमै फर्किए भने सोडारी नेकपा (एकीकृत समाजवादी) तिर गएका छन् ।