दशैंतिहार बिदामा बाब्लाका टोलटाेलमा कक्षा सञ्चालन
अछाम । दशैंतिहार बिदाको बिदा । घर नजिकैको खाली खाली ठाउँ । विद्यार्थीहरु कापी किताब लिएर जम्मा हुन्छन् । कोही गृहकार्यमा जुट्छन् भने कोही अलमल परेको विषयमा शिक्षकलाई सोध्छन् । कोही गणितका हिसाबमा शिक्षकसँग सोध्ने गर्छन् । कोही साथीसँगको सल्लाहमा छन् । साँफेबगर नगरपालिका–१३ बाब्लामा बिहान हरेक टोलमा यस्तै दृष्यहरु देखिन्छन् ।
बाब्लामा दशैंतिहारको बिदामा विद्यालयकै झल्को दिने गरी टोल कक्षा सञ्चालन थालिएको छन् । बाब्लामा रहेका मावि र आधारभूत गरेर छ विद्यालयका विद्यार्थीहरुलाई १२ टोलमा कक्षा सञ्चालन गरिएको हो । कक्षा १० सम्मका विद्यार्थीहरुलाई उनीहरुकै पायक पर्ने गरेर टोलमै बिहान तीन घण्टा कक्षा सञ्चालन गरिएको छ । टोलको साझा ठाउँमा त्यस टोलका विद्यार्थीहरुलाई विभिन्न कक्षाका समूहमा कक्षा लिन थालिएको शिक्षक रमानन्द जोशीले जानकारी दिनुभयो ।
टोल कक्षामा स्थानीय १२ कक्षाका विद्यार्थीहरुलाई स्वयमसेवक शिक्षक भनेर परिचालन गरिएको छ । स्वयमसेवक शिक्षकले निशुल्क रुपमा सम्बन्धित टोलमा बिहान ७ बजेबाट १० बजेसम्म विद्यार्थीहरुलाई सहजिकरण गर्ने जिम्मेवारी छ । कक्षा १२ मा अध्ययनरत २४ जना विद्यार्थीहरुलाई एक दिनको प्रशिक्षण दिएर टोल कक्षा प्रारम्भ गरिएको छ ।
टोल कक्षा सञ्चालनका लागि राष्ट्रिय मावि बाब्लाका शिक्षकहरु हरेक टोलमा गएर टोल कक्षा सञ्चालन आवश्यकता, अभिभावको दायित्व र बालबालिकाको अधिकारका बारेमा अभिभावकसँग छलफल गरेको बताइएको छ । वडामा रहेका पाँच वटा आधारभूत विद्यालय र व्यवस्थापन समितिसँगको समन्वयमा सबै सहमत भएपछि टोल कक्षामा एकमत भएपछि कक्षा थालनी गरिएको राष्ट्रिय माविका प्राधानाध्यपक तिलक कुँवरको भनाई छ ।
दशैंतिहारका बेलामा बाहिरबाट घर गएका उच्च कक्षाका विद्यार्थी, विभिन्न पेसाका व्यक्तिहरुले समेत नियमित अध्ययनसँगै बाह्य ज्ञानपनि विद्यार्थीहरुलाई दिइने छ । “गृहकार्य गर्ने, पढ्ने र अन्यबाट सहयोग लिने काम टोल कक्षामा सञ्चालन गरिने छ । भने थप जानकारी आवश्यक भएमा तुरुन्त सम्बन्धित विषय शिक्षकसँग टेलिफोन, इन्टरनेटको सहयोग लिएर समस्याको समाधान गरिने छ ।” प्राधनाध्यापक कुँवरले भन्नुभयो । बिदाका दिनमा बालबालिकाहरुको घरमा अध्ययन गर्ने कम हुने र सजिकरण गर्ने समस्या भएकोले टोल कक्षा सञ्चालनका लागि अभिभावकबाटै साथ पाएपछि यस्तो कक्षा सञ्चालन थालिएको वडा अध्यक्ष रुप बहादुर कुँवरको भनाई छ ।
टोल कक्षालाई प्रभावकारी बनाउन अभिभावक, विद्यालय व्यस्थापन समिति, शिक्षक अभिभावक संघ, स्थानीय शिक्षकलाई जिम्मेवारी बनाइएको छ । विद्यार्थी उपस्थित गराउने गरेर टोल अभिभावक समूह, पढाउनेमा सहजिकरण स्वयमसेवक शिक्षक र अन्य आवश्यक काममा विद्यालय व्यवस्थापन समिति र स्थानीय शिक्षकले गर्नेगरी कार्यविभाज गरिएको छ । टोलमा रहेका परिवार, जाति तथा थरका आधारमा विद्यार्थीहरुलाई सहजै टोल कक्षामा सहभागी हुने गरी टोल विभाजन गरिएको बताइएको छ ।
“विद्यार्थीको पठनपाठनमा निरन्तरता गरेर शिक्षालाई गुणस्तरीय बनाउनका लागि टोल कक्षा सञ्चालन गरिएको हो ।” वडा अध्यक्ष कुँवरले भन्नुभयो । वर्षे बिदामा समेत टोल कक्षा सञ्चालन गरिएकोले प्रभावकारी भएकोले दशैंतिहार बिदालाई पनि टोल कक्षाको उपयोग गर्न थालिएको कडा अध्यक्ष कुँवरको भनाइ छ । दशैंतिहारको ३८ दिन लामो बिदामा विद्यार्थीले अध्यनन गरेको विषयवस्तु नबिर्सुन र थप शिक्षाको अवसरका लागि टोल कक्षा सञ्चालन गरिएको बताइएको छ ।