प्राकृतिक प्रकोपबाट बच्न मंगलसेनमा कृतिम घटना अभ्यास
मंगलसेन । प्राकृतिक प्रकोपबाट बच्नका लागि अछाम सदरमुकाम मंगलसेनमा कृतिम घटना अभ्यास गरिएको छ । मंगलसेन बजारको खुलामञ्चमा ग्याँस सिलिन्डरबाट हुने आगलागी नियन्त्रण, विद्युतिय माध्यमबाट घर तथा कार्यालयमा आगलागीबाट बच्ने, नियन्त्रणमा लिने तरिकाका बारेमा पूर्वाभ्यास गरिएको हो । यस्तै पेट्रोलियम पदार्थबाट मानिसको शरिरमा आगलागीबाट बच्ने तरिका, सडक दुर्घटना पश्चात गरिने कार्यको कृतिम अभ्यास गरिएको हो ।
विपद् आइसकेपछि बच्ने उपाय, अपनाउने सावधानी, उपचार र संलग्न पक्षका बारेमा जानकारीमुलक कृतिम अभ्यास गरिएको मंगलसेन नगरपालिका वन वातावरण तथा विपद् व्यवस्थापन शाखा प्रमुख नरेश बहादुर कठायतले जानकारी दिनुभयो । मंगलसेन नगरपालिकाको आयोजनामा, जिल्ला विपद् व्यवस्थापन समिति, गोरख बक्स गण, सशस्त्र प्रहरी खप्तड गुल्म र नेपाल रेडक्रस सोसाइटी अछामको समन्वयमा कृतिम घटनाका अभ्यास गरिएको हो ।
कृतिम घटना अभ्यास समापनमा मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहराले सानो जानकारीको अभावमा विपद्ले ठूलो क्षति हुनसक्ने भन्दै आवश्यक जानकारी लिनुपर्ने भनाइ राख्नुभयो । प्रमुख बोहराले नगरले आफ्ना नागरिकलाई सम्भावित विपद्बाट समयमै सचेत रहन, सजगकता अपनाउन र घटना भइहालेमा सम्बन्धित निकायमा खबर गर्न र सबैले सहयोग गर्नका लागि आग्रह गर्नुभयो । सोही कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिव प्रसाद लम्सालले विपद्का घटनापछि सबैको साथ र सहयोगले मात्रै क्षतिलाई न्यूनिकरण गर्न सहयोग पुग्ने भएकोले यसका लागि आग्रह गर्नुभयो ।
कृतिम घटना अभ्यासका क्रममा मंगलसेन नगरका प्रमुख सहित जनप्रतिनिधिहरु, प्रमुख जिल्ला अधिकारी सहित कार्यालयका कर्मचारीहरु, विभिन्न राजनीतिक दल, नेपाल रेडक्रस सोसाईटी, अछाम शाखा, प्राध्यापक, शिक्षक, विद्यार्थी र सर्वसाधारणको सहभगिता रहेको थियो । कृतिम घटनालाई सशस्त्र प्रहरी र नेपाल प्रहरीले अभ्यासबाट प्रर्दशन गरिएको थियो ।
उद्घाटन कार्यक्रमको सञ्चालन मंगलसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारीले गर्नुभएको थियाे । पूर्वअभ्यास मंगलसेन नगरपालिकाको अायोजनामा सशस्त्र प्रहरी खप्तड गुल्म, नेपाल प्रहरी, नेपाल रेडक्रस सोसाइटी, अछाम शाखाकाे समन्वयमा सम्पन्न भएको थियो ।