तीन महिनामा ४८ करोड रुपियाँभन्दा क्षतिपूर्ति
काठमाण्डाै । सरकारले वैदेशिक रोजगारीका क्रममा ठगीमा पर्नेहरुलाई चालु आर्थिक वर्षमा ४८ करोड रुपियाँभन्दा बढी क्षतिपूर्ति उपलब्ध गराएको छ ।
मङ्गलबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले आफ्नो ९० दिने कार्यकालमा भएका प्रगति विवरण सार्वजनिक गर्न आयोजना गर्नुभएको पत्रकार भेटघाट कार्यक्रममा सो कुराको जानकारी दिनुभएको हो ।
मन्त्री कुँवरले वैदेशिक रोजगारीका क्रममा ठगी गर्ने, अलपत्र पार्ने र सम्झौतामा उल्लेख भएको अनुसारको काममा नलगाउने जस्ता कार्य गराएको भनि वैदेशिक रोजगार विभागमा आएको निवेदनका आधारमा चालु आर्थिक वर्षमा पीडकबाट क्षतिपूर्ती भराएको ४८ करोड चार लाख ८५ हजार रुपियाँ क्षतिपूर्ति पीडितलाई उपलब्ध गराइएको बताउनुभयो ।
वैदेशिक रोजगारीको क्रममा भएका ठगीको उजुरी प्रमुख जिल्ला अधिकारीले हेर्न पाउने र उजुरी उपर कारबाही गरी पीडितलाई क्षतिपूर्ति दिलाउने व्यवस्थाको कार्यान्वयनलाई प्रभावकारी बनाइएको उहाँको भनाइ छ ।
मन्त्री कुँवरले नेपालबाट बेलायतमा स्वास्थ्य क्षेत्रका जनशक्ति पठाउने सम्बन्धी श्रम समझदारी पत्रमा हस्ताक्षर भइ काम अगाडि बढेको पनि उल्लेख गर्नुभयो ।