कार्यकर्ताको माग र पार्टीको निर्णयमा चुनाव लड्छुः भीम रावल
अछाम । नेकपा (एमाले) का नेता डा. भीमबहादुर रावलले कार्यकर्ताको माग र पार्टीले निर्णय गरे आफू प्रतिनिधिसभाको चुनाव लड्न विचलित नभएको बताउनु भएको छ।
एमाले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ समन्वय समितिले रावलको गृह नगर साँफेबगरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै रावलले आफू चुनाव लड्ने भनाइ राख्नुभयो । नेता रावलको नाम अछाम १ को प्रतिनिधिसभा सदस्यका उम्मेद्वारका लागि एकल नाम सिफारिस गरिएको छ ।
यसअघि पनि टिकटका लागि हाररगुहार नगरेको र पार्टीले निर्णय गरे मुताविक नै चुनाव लड्दै आएको रावलकाे भनाइ छ । रावलले भन्नुभयो ‘मैले चुनाव लड्ने निर्वाचन क्षेत्र अछाम क्षेत्र नम्बर १ का नेता तथा कार्यकर्ताहरुले चुनाव लड्न आग्रह गरे पछि हट्ने कुरै छैन।’ प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै गर्दा कार्यकर्ता भेटघाटमा रावल गृह जिल्ला अछाम पुग्नुभएका हो।
२०७४ को निर्वाचनमा अछाम क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित नेता रावल फेरि पनि मंसिर ४ मा हुने प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्ने चर्चामा हुनुहुन्छ।
रावलले नेपालको संविधान, लोकतन्त्र र राष्ट्रिय हितको लागि आफू निरन्तर लागिरहेको भनाइ राख्नुभएको छ । अगुवा कार्यकर्ता भेलामा एमालेमा आस्थावान नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।
नेकपा एमाले प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ समन्वय समितिका संयोजक प्रकाश शाहको अध्यक्षतामा भएको अगुवा कार्यकर्ता भेलाको सञ्चालन एमाले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ समन्वय समितिका सचिव चक्रबहादुर रावलले गर्नुभएको थियो।