मुख्यमन्त्री भट्टको टोलीद्वारा अछामका पहिरो प्रभावित क्षेत्रको निरीक्षण र राहत

अछाम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको टोलीले पहिरो प्रभावित क्षेत्रमा पुगेर निरीक्षण र राहत प्रदान गर्नुभएको छ । पहिरोमा मृत्युु भएका कमलबजार, ढकारी र तुर्माखाँद गाउँपालिकाको घटनास्थलमा हेलिकप्टरबाट पुगेर मुख्यमन्त्रीको टोलीले सात परिवारलाई नगद राहत, कम्बल र भाँडाकुडा सहयोग गरिएको छ ।
मुख्यमन्त्री भट्टले मृतकका सात परिवारलाई भेटेर १३ लाख ४० हजार रकम राहत हस्तान्तरण गर्नुभएको छ । एक जना मृत्यु भएको परिवारलाई एकलाख राहत र २० हजार किरिया खर्च दिइएको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) विश्वराज मरासेनीले जानकारी दिनुभयो । यस्तै दुई वा दुई भन्दा बढी मृत्यु भएकाले प्रतिपरिवार दुई लाख राहत र २० हजार किरिया खर्च वितरण गरिएको छ ।
घर भत्केको खानेपानी सिँचाइलगायतका समस्यामा एकीकृत गरेर प्रदेश सरकारले अर्को प्याकेजमा सहयोग गर्ने भनाइ राख्नुभयो । ‘वास्तविक क्षतिको विवरण जति छिटो आउँछ हामी त्यति नै छिटो काम गर्नेछौैं ।’ मुख्यमन्त्री भट्टले भन्नुभयो । आन्तरिक मामिला तथा कानुनमन्त्री रणबहादुर रावलले पीडितलाई प्रदेश सरकारले पनि सहयोग गर्ने भनाइ राख्नुभयो । मुख्यमन्त्री भट्टले संघबाट पनि सहयोग हुने भन्दै राहतको उचित उपयोगमा आग्रह गर्नुभयो ।
मुख्यमन्त्री टोलीलाई स्थानीय तहका जनप्रतिनिधिले आफ्नो क्षेत्रमा प्रकोपबाट भएको मानविय र भौतिक क्षतीको बारेमा जानकारी गराएका थिए । यसअघि संघीय सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले प्रभावित क्षेत्रमा निरीक्षण गर्नुभएको थियो । 
भदौ ३१ गते राती घरमाथिबाट पहिरो आएर कमलबजार नगरपालिका–६ मा सात जना, वडा नम्बर ८ मा पाँच जनाको मृत्यु भएको थियो । यस्तै तुर्माखाँद गाउँपालिकामा नौ जना र ढकारी गाउँपालिकामा एक जना बालकको ज्यान गएको छ । यस्तै ढकारी गाउँपालिकामा बाढीले एक जना वेपत्ता अवस्थामा छन् ।

Mangalsen Ward
सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page