अछामको काेलेनिका प्रमुख चन्दको निधन
मंगलसेन । कोष तथा लेखा नियन्त्रण कार्यालय (कोलेनिका) अछामका प्रमुख जयकुमार चन्दको उपचारको क्रममा बिहीबार भारतको लखनउमा निधन भएको छ । डेंगुको उपचारका क्रममा अछाम, नेपालगञ्ज हुँदै लखनउमा समेत उपचार हुन नसक्दा चन्दको निधन भएको हाे । बिहीबार दिउसाे करिब ११ बजेतिर उपचारकै क्रममा उहाँकाे निधन भएकाे बताइएकाे छ ।
काठमाण्डौबाट मंगलसेन पुगेपछि भदौ ३० गतेबाट ज्वरो आएकोमा जिल्ला अस्पताल अछाममा परीक्षणका क्रममा चन्दलाई असोज १ गते डेंगु देखिएको बताइएको छ । जिल्लामा उपचार सम्भव नभएपछि असोज तीन गते नेपालगञ्ज उपचारका लागि गएकोमा थप उपचारका लागि अन्य अस्पतालमा लैजान भनेपछि लखनउ लगिएको कार्यालयका लेखापाल रामबहादुर माझीको भनाइ छ ।
नेपागञ्जबाट काठमाण्डौ लैजान तयारी भएपनि हवाइजहाजमा अक्सिजनको मात्रा कमी हुने भन्दै चिकित्सकले नलैजान भनेपछि लखनउमा हिजो बुधबार लिएको थियो । सल्यान स्थायी ठेगाना रहनुभएका चन्द दुई वर्षअघि कोष तथा नियन्त्रण कार्यालय अछाममा कोष नियन्त्रको रुपमा आउनुभएको थियो ।
काेष नियन्त्रक चन्दको निधनमा अछामका सरकारी, गैरसकारी क्षेत्रमा संलग्न व्यक्तिहरूले श्रद्धाञ्जली दिइरहेका छन् ।