रगतका लागि डीएसपी जब अस्पताल पुगेपछि……
अछाम । मंगलसेन नगरपालिका–१२ ठाँटीखान निवासी २२ वर्षीया मनिषा शाही अछाम जिल्ला अस्पतालमा सुत्केरीपछि रक्तश्राव भयो । उनलाई अरुले रगत दिएर बचाउनुर्पो अवस्था आयो । परिवारका सदस्य, स्वास्थ्यकर्मी र अन्यले सबैतिर रगत खोजि गरे । तर एबी सकारात्मक (एवि पोजेटिभ) रगत पाउन मुस्किल भयो ।
अन्तिममा रगतका लागि जिल्ला प्रहरी कार्यालय, अछाममा अनुरोध गरियो । रक्त समूह मिल्ने भएकोले कार्यालयका प्रमुख तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) ईश्वरी प्रसाद भण्डारी रगत दिन आफै तयार हुनुभयो । भण्डारीले जिल्ला अस्पताल पुगेर मनिषालाई रक्तदान गर्नुभयो ।
सुरक्षा निकायबाट अछाम अस्पतालमा रगत दिनेमा माथिल्लो तहका व्यक्तिमा सम्भवतः भण्डारी नै पहिलो व्यक्तिमा पर्नुभएको छ । जिल्लामा रगत अभाव अन्तिम समयमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीलाई अनुरोध गर्ने गरिन्छ ।
भण्डारीले रगत दिएपछि जिल्ला प्रहरी कार्यालयको फेसबुकमा साझा गरिएको विवरण र तस्बिरपछि असल काम भएको भन्दै प्रशंसा गरिएको छ । डीएसपी भण्डारीले रक्तदान गरेपछि रगत दान गर्नुपर्नेमा सकारात्मक सन्देश प्रवाह भएको कतिपयको प्रतिक्रिया रहेको छ ।