पहिरो जोखिममा परेका २० घरपरिवारले वासस्थान छाडे
मंगलसेन । पहिरोले नौ जनाको ज्यान लिएको तुर्माखाँद गाउँपालिका–५ नाडाको काँडाकोटका २० घरपरिवार विस्थापित भएका छन् । माथिबाट पहिरो आएर घर पुरिने डरले आधा घण्टा पर रहेको कालिकेश्वरी माविमा २० घरका मानिसहरु सरेको स्थानीय नरेशकुमार शाहीले जानकारी दिनुभयो ।
पहिरोको जोखिममा रहेको परिवारलाई सारिएर खाद्यन्नलगायतका सामग्रीको व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालय, अछामका प्रशासकीय अधिकृत मिनराज आचार्यले जानकारी दिनुभयो । जोखिममा रहेका व्यक्ति र परिवारलाई सुरक्षित रुपमा राखिने बताइएको छ । पीडित क्षेत्रमा स्थानीय तह, नेपाल रेडक्रस सोसाइटीलगायतले समेत सहयोग गरिरहेका छन् ।