अछाममा गएराती पहिरोको वितण्डाः घर पुरिँदा १७ जनाको मृत्यु, छ वेपत्ता

शिवराज ढुंगाना
अछाम । तीनदेखिको वर्षाका कारण अविरल वर्षाका कारण अछामका चार स्थानमा घर भत्किएर १७ जनाको मृत्यु भएको छ । भने छ जना पहिरोमा वेपत्ता भएका छन् ।
घर माथिबाट पहिरो आएर दुई घर पुरिएर तुर्माखाँद गाउँपालिका–५ नाडामा चार जनाको मृत्यु र पाँच जना पहिरोमा वेपत्ता भएका छन् । पहिरोमा परेर मृत्यु हुनेमा ४५ वर्षीय नेत्र शाही, ३५ वर्षीया मनिषा शाही, १७ वर्षीया विमला शाही, १६ वर्षीया जानकी शाहीको शव प्राप्त भएको छ । घटनामा १७ वर्षीया कल्पना शाही, एक वर्षीया करिष्मा शाही, १३ वर्षीया सुन्दर शाही, २० वर्षीया भावना शाही र ३ वर्षीया मेलिना शाही हालसम्म पहिरोमा वेपत्ता छन् । वेपत्ताको स्थानीय, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले खोजिकार्य गरिरहेको स्थानीय जनकबहादुर शाहीको भनाइ छ । राती करिब तीन बजेतिर घर माथिबाट पहिरोले नेत्रबहादुर शाही र रितबहादुर शाहीको घर भत्किएपछि धेरै माटो भएकोले शव निकाल्न सहज नभएको बताइएको छ ।
यस्तै कमलबजार नगरपालिका–६ विरपथमा इन्द्र परियार घर पहिरोले पुरिएर सात जनाको मृत्यु र सात जना घाइते भएका निमित्त प्रमुख जिल्ला अधिकारी दीपेश रिजालले जानकारी दिनुभयो । मृत्यु हुनेमा ३० वर्षीया अमृता कामी, १७ वर्षीया समिता कामी, २१ वर्षीया अर्धना कामी, नौ वर्षीय निखिल कामी, ३६ वर्षीया मैनकला कामी, १५ वर्षीया गीता कामी, १२ वर्षीया सिरु कामी रहेका छन् । सोही घटनाका घाइते भक्त कामी, इन्द्र कामी, डिक्रा कामी, कल्पना कामी, ममता कामी, सफलता कामी, सुशील कामीको जिल्ला अस्पताल अछाममा उपचार भइरहेको छ । कमलबजार नगरपालिका–८ ढाँकुको डुँगालामा थिरे दमाईको घर भत्केर पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकै घरका २६ वर्षीय गंगे दमाई, २३ वर्षीया भना दमाई, सात वर्षीया डिक्रा दमाई, चार वर्षीया कल्पना दमाई र तीन वर्षीया सृष्टी दमाई रहेका छन् ।
यस्तै ढकारी गाउँपालिका–६ ढुंगाचाल्नामा पहिरोले घर पुरिएर दुई वर्षीया नविन बुढाको मृत्यु भएको छ । घटनामा ६५ वर्षीय हर्क बुढा, २५ वर्षीय चन्द्रादेवी बुढा, १२ वर्षीया धर्म बुढा जना गम्भीर घाइते भएपछि उद्धार गरेर हेलिकप्टरमार्फत सुर्खेत पुर्याइएको छ । सोही गाउँपालिका–१ ढकारीमा खोलाले बगाउँदा मोती बुढा वेपत्ता भएको अछाम प्रहरी प्रमुख नारायण डाँगीले जानकारी दिनुभयो ।
तुर्माखाँदको पहिरोमा परेर वेपत्ता भएका व्यक्तिहरुको मंगलसेनबाट हेलिकप्टरमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई लिएर पुरिएका शवको उत्खनन गर्ने काम भइरहेको प्रशासकीय अधिकृत मिनराज आचार्यको भनाइ छ । प्रतिनिधिसभाको शनिबारको बैठकमा अछाम–१ का सांसद भीमबहादुर रावल र अछाम–२ का सांसद यज्ञबहादुर बोगटीले उद्धार, उपचार, राहतको माग गर्नुभएको छ । गृह मन्त्रालय, सुदूरपश्चिम प्रदेश सरकार, सुरक्षा निकाय, नेपाल रेडक्रस सोसाइटी लगायतसँगको समन्वयमा उद्धार, राहतको काम भइरहेको छ । जिल्ला अन्य स्थानमा घर, छाना भत्केको, जोखिममा रहेको र खेतीयोग्य जमिन नष्ट भएको विवरण जिल्ला प्रशासनमा आइरहेको बताइएको छ ।