कैलालीको घोडाघोडीमा १५ वर्षीयाको सामुहिक बलात्कार

कैलाली । कैलालीको घोडाघोडी नगरपालिकामा देउडा हेर्न गएकी १५ वर्षीया एक किशोरी बलात्कृत भएकी छन् ।
भदौ २१ गते राति चार जनाले सामूहिक बलात्कार गरेको भन्दै ती किशोरीले इलाका प्रहरी कार्यालय सुखडमा जाहेरी दर्ता गराएकी छन् । आरोपी चारमध्ये तीन जनालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी नायब उपरीक्षक लक्ष्मण शाहीले जानकारी दिए ।
‘भदौ २२ गते बिहान प्रहरीले सुखड बजारमा ती किशोरीलाई असामान्य अवस्थामा फेला पार्यो, प्रहरीले नै उपचारका लागि स्थानीय अस्पतालमा लग्यो । त्यो समयमा ती किशोरी बोल्न सक्ने अवस्थामा थिइनन्,’ उनले भन, ‘केही समयको उपचारपछि उनको होस खुल्यो, उनलाई आफन्तको जिम्मा लगायौं।’
बलात्कृत किशोरीले आज (शुक्रबार) बिहान इलाका प्रहरी कार्यालयमा किटानी जाहेरी दिएपछि आरोपित चारमध्ये तीन जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको उनले बताए ।