विवादपछि रामारोशन गाउँपालिका अध्यक्षकी श्रीमतीद्वारा भान्से पदबाट राजिनामा
अछाम । गाउँपालिका अध्यक्षले आफ्नै श्रीमतीलाई थप अधिकारसहित भान्से नियुक्ति गरेको समाचार बाहिरिएपछि राजिनामा दिएकी छन् ।
जनस्तरमा व्यापक आलोचना भएको भन्दै गाउँपालिकाले अध्यक्षकी श्रीमती जयसरा साउँदको राजिनामासँगै उनले बुझेको ३१ हजार छसय ३० रुपियाँ गाउँपालिकाको सञ्चित कोषमा जम्मा गरिएको प्रमुख प्रशासकीय अधिकृत रामबहादुुर भण्डारीले जानकारी दिनुभयो । जेठको आधा र असार महिनाको गरेर डेढ महिनाको रकम फिर्ता गरिएको बताइएको छ ।
गाउँपालिका अध्यक्ष मानबहादुर साउँदले विजयी हुने वित्तिकै श्रीमती जयसरालाई भान्सेसँगै आफू गएको ठाउँमा जाने र भत्ता पाउने गरेर नियुक्त गराएका थिए । राजिनामा स्वीकृतिसँगै भान्से पदसँग गरिएको सम्झौता समेत रद्ध भएको बताइएको छ । श्रीमतीलाई भान्से नियुक्तिको सूचना बाहिरीएपछि अधिकाँसले शक्तिको दुरुपयोग गरेर आफ्नो श्रीमती भान्से नियुक्त गरेको भन्दै कडा विरोध गरिएको थियो ।
गाउँपालिकासँग जेठ १५ गते सम्झौता मंसिर १५ सम्म नियुक्तिको करार सम्झौतामा कार्यालय सहयोगी पाउने रकम बराबर हुने गरेर २१ हजार तीनसय मासिक तलव पाउने व्यवस्था गरिएको थियो । तलबसँगै पोषाक, चाडपर्व खर्च, अनुगमन, बैठक र भ्रमणभत्ता समेत पाउने करार सम्झौतामा रहेको थियो ।