अछामको भैरवस्थान वार्डले मदिरा र जुवातास बन्द अभियानः तास हेर्नेलाइ समेत समेत जरिवाना
अछाम । वडालाई मदिरामुक्त र जुवातासमुक्त बनाउन अछामको तुर्माखाँद गाउँपालिकाको एउटा वडाले अवैध मदिरा र जुवातासमा नगद जरिवाना गर्ने भएको छ । तुर्माखाँद गाउँपालिका–३ भैरवस्थानमा अवैध मदिरा बेचविखन र जुवातास नियन्त्रणका लागि जरिवाना गरिने वडा अध्यक्ष काँसीराम बुढाले जानकारी दिनुभयो ।
वडाले अवैध मदिरा बेचबिचखनमा छहजारदेखि आठहजारसम्म र सेवनमा दुईहजारदेखि २५ सय रुपियाँसम्म जरिवाना गर्ने भएको छ । व्यक्ति दोहोरिएमा मदिरा बेचबिखनमा एकहजार र सेवनकर्तालाई पाँचसय पटकैपिच्छे जरिवाना गरिने भएको हो । जुवातास खेलाउनेलाई पाँचहजारदेखि सातहजार र जुवातास खेल्नेलाई २५ सयदेखि तीनहजार जरिवाना तोकिएको वडा अध्यक्ष बुढाको भनाइ छ । जुवातास बस्ने र हेर्नेलाई पाँचसयदेखि एकहजार रुपियाँसम्म जरिवाना तोकिएको छ । वडाले सूचना जारी गरेर अवैध मदिरा बेचबिखन, सेवन र जुवातास खेलाउने, खेल्ने र हेर्नेलाई कार्वाही गर्न आर्थिक जरिवाना गरिने भएको बताइएको छ ।
अवैध मदिरा र जुवातास कानुनले नै रोकेकोले त्यसको कार्यान्वयनको लागि वडाले जरिवाना तोकेको बताइएको छ । “मदिरा सेवनले महिला र केटाकेटीलाई समस्या नहोस् भनेर हामीले वडामा छलफल गरेरै पैसा तिराउने बनायौं ।” वडा सदस्य ललितादेवी बुढाले भन्नुभयो । नियम विपरित काम गरेमा नियम अनुसार कार्वाही गरिने समेत वडाबाट प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।