कृषकका विरूवा वितरण नै नगरेर पुरिए
अछाम । पञ्चदेवल विनायक नगरपालिकामा किसानका नाममा खरिद गरिएका फलफूलका विरुवा जमिन मुनि पुरिएको अवस्थामा भेटिएको छ । किसानलाई वितरण गर्ने भनेर खरिद गरिएका फलफूलका विरुवा माटोमुनी गाडिएको जनगुनासो आएपछि स्थानिय नागरिक ,पत्रकार जनप्रतिनिधि, प्रहरी लगायतको टोलीले स्थलगत निरीक्षण गर्ने क्रममा ठुलो परिमाणमा फलफूलका विरुवाहरू जमिनमुनि गाढेको तथा बेवारिसे फालिएको अवस्थामा फेला परेका हुन् ।
स्थानीय किसानहरूले पटक पटक नगरपालिकामा फलफूलको विरुवा माग गर्न गए पनि कर्मचारीहरुले आफुहरुलाई फारम भरेकोले मात्रै विरुवा पाउछ अरुले पाउदैन भन्दै रित्तो हात फर्काएको गुनासो गरेका छन । हामीलाइ फारम नभरि पाइदैन भन्ने तर किसानलाइ विरुवा वितरण नगरि माटोमा गाडिएको भन्दै स्थानीय किसानले आक्रोस व्यक्त गरेका छन ।
सबै वाडका लागि कागती, सुन्तला, आप, मौषमी, अनार, लिचि, अम्बाका विरुवा खरिद गरिएको बुझिएको छ । तत्कालीन प्रमुख प्रशसकीय अधिकृत ध्रुवप्रसाद सापकोटाले आफैले फलफूलका विरुवा खरिद गरेको कृषि शाखा प्रमुख भरत साउदले बताएका छन् । आफुलाइ विरुवा कहाबाट आए केही पनी थाह नभएको र पालिकामा आइसकेपछि आफुले वितरण मात्रै गरेको शाखा प्रमुख साउदको भनाई छ । आफु कार्यालयमा रहदा सम्म फारम भरेका र पालिकामा विरुवा लिन आएका सबै किसानलाइ विरुवा वितरण गरेको उनको भनाइ छ ।
यस विषयमा ध्रुवप्रसाद सापकोटालाई प्रत्यक्ष टेलिफोन गरी बुझ्दा उनले ठुलो संख्यामा फलफूलको विरुवा खरिद गरी ल्याएको स्वीकार गरे । तर, कार्य व्यस्तताको कारण करिब दुई हजार विरुवा मात्रै किसानलाई वितरण गरिएको र बाँकी विरुवा खेर गएको बताए । कृषि शाखा प्रमुख भरत साउद र प्रमुख प्रशासकीय अधिकृत ध्रुवप्रसाद सापकोटाको भनाइ बाँझिएको छ ।
शाखा प्रमुख भरत साउद र प्रमुख प्रशासकीय अधिकृत ध्रुवप्रसाद सापकोटाको भनाइ बाँझिएको छ । कृषि शाखा प्रमुख साउदले टेलिफोनमा आगामी आर्थिक बर्ष २०८२/०८३ मा किसानलाई वितरण गर्नको लागि आर्थिक बर्ष २०८१/०८२ मा खरिद गरिएको विरुवा सुरक्षित राख्न जमिनमुनी गाड्नु परेको हास्यास्पद जवाफ दिएका छन् ।
यस विषयमा हामीले केही कृषि प्राबिधिक तथा कृषि बिज्ञसंग बुझ्दा अर्को वर्षमा रोप्ने प्रयोजनका लागि त्यसरी माटोमा विरुवा गाड्ने प्रविधि नभएको र यो सरासर गलत रहेको पाइएको छ । प्रमुख प्रशासकीय अधिकृत ध्रुवप्रसाद सापकोटा हाल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भइसकेका छन् ।
हाल उनको स्थानमा पदमबहादुर माझी प्रमुख प्रशासकीय अधिकृत छन् । पदमबहादुर माझीलाई बुझ्दा उनले आफू आएको एक महिना मात्रै भएको र यस विषयमा पूरै अनभिज्ञ रहेकोले आफू यो विषयमा जानकार नभएको बताए । वडा न ६ तोलीका अध्यक्ष कमल रावलले पालिकाका अधिकांश वडामा विरुवा नपुगेको बताए ।
आफुले आफ्नै निजी गाडी प्रयोग गरि सबै विरुवा वडामै लगेर वितरण गरेपनी अधिकांश वडाका किसानले भने विरुवा नपाएको उनको भनाइ छ । यसमा हामी जनप्रतिनिधि पनि केही हद सम्म चुकेका छौ सबैभन्दा ठुलो कमजोरी कृषि शाखा र कार्यालय प्रमुखको रहेको रावलले बताएका छन । वडा अध्यक्ष रावलले भन्नुभयो यी विरुवामा राज्यको लगानी छ भन्दै जनताको सम्पती यसरी दुरुपयोग गर्न नमिल्ने वडा अध्यक्ष रावलले बताए ।
विनायक क्षेत्रमा रहेका राजनीतिक दलका अगुवाहरुले पनि राज्यको सम्पति यसरी खेर फाल्ने अधिकार कसैलाइ नभएको बताएका छन । नेकपा एमालेका नगर इन्चार्ज बखतबहादुर कडायतले कृषकहरुको सम्पत्ति माटोमा मिल्काउनु दुःखद भएको बताए । यसो हुनुमा नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी दोषी रहेको र यस्तो कार्यले किसानमाथि ठुलो अन्याय भएको उनले बताएका छन ।
नेकपा माओवादी केन्द्रका अमर बहादुर विक आव्हानले किसानलाई नगरले न्यायोचित र समान व्यवहार गर्न नसकेको, आग्रह, पूर्वाग्रहका र नगरको नेतृत्वको आफू निकटका किसानहरुलाई मात्रै सेवा दिने संकीर्णताले अधिकांश किसान फलफूलको विरुवा पाउन बञ्चित भएको बताए । नेकपा कम्युनिष्ट पार्टीका नेता सज्जन बहादुर धामी सि ले जनप्रतिनिधिहरू र कर्मचारीहरुको कृषकमाथिगैरजिम्मेवार व्यवहारले पराकाष्टा नाघेको यो नांगो उदाहरण भएको बताए । उहाँले यो विषयमा जनस्तरमा बहसमा लिएर भण्डाफोर गर्ने बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टी नगर सचिव रणबहादुर कडायतले कृषकको अधिकारमाथि नगरपालिकाले लापरबाही गरेको, आफ्ना निकट मान्छेलाई नगरले घर घरसम्मै विरुवा पुर्याउने गरेको र अन्य कृषकहरु पालिकामा माग गर्न आउँदा समेत फलफुल विरुवा पाउन बञ्चित रहनु परेको बताए । यस विषयमा स्थानीय अगुवा किसान द्वारिका अधिकारीले आफू पटक पटक फलफूल विरुवा माग गर्न नगरपालिका धाइरहे पनि फरक पार्टीमा आस्था राखेको कारण विरुवा नपाएको बताए ।
करिब एकहजार पाँचसयको संख्यामा विरुवा माटोमा गाडिएको र एक हजारको संख्यामा यत्रतत्र फ्याकिएको अवस्थामा विरुवा भेटिएका थिए । यो विषयलाइ लिएर अहिले पालिकाको आलोचना भईरहेको छ । अग्निखबरबाट साभार