कुटपिटको भिडियो बनाउने बालक अछाम प्रहरीबाट सम्मानित
मंगलसेन । कुटपिट र दुर्व्यवहार गरेको घटनालाइ भिडियोबाट बाहिर ल्याउने ११ वर्षीय बालकलाइ शुक्रवार सम्मानित गरिएको छ । भदौ ७ गते जिल्लाको पञ्चदेवल विनायक नगरपालिका ६ मा ५३ वर्षीया जैसरा न्यौपानेलाई लछारपछार गरी अमानवीय व्यवहार गरेको भिडियो खिचेर घटनाबारे जानकारी बाहिर ल्याउने त्यही ठाउँका बालक दीपेन्द्र न्यौपाने सम्मानित भएका हुन ।
न्यौपानेलाई सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री डा. रणबहादुर रावलले सम्मान गर्नुभएको हाे । बालकले तत्काल घटना रोक्न नसके पनि घटनाको भिडियो रेकर्ड गरी समाजमा लुकेर रहेका घरभित्रका हिंसाका घटनालाई बाहिर ल्याउनुका साथै कानुनी दायरामा ल्याउनमा महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै उहाँलाई सम्मान गरिएको हो ।
मन्त्री रावलले समाजको विकास र विकृति नियन्त्रणमा हरेक व्यक्तिको भूमिका हुने भन्दै बालक न्यौपानेको कामको प्रशंसा गर्नुभएको छ । कुटपिटमा दुई जना महिलालाई प्रहरीले पक्राउ गरेको छ ।