जंगलघाटमा पहिचान नखुलेको शव फेला
अछाम । तुर्माखाँद गाउँपालिका–४ जंगलघाटमा पहिचान नखुलेको एक युवकको शव फेला परेको छ । अछाम र सुर्खेत जोड्ने जंगलघाटको झोलुङ्गे पुल भन्दा करिब ५० मिटर तल अन्दाजी ३० वर्षीय युवकको शव फेला परेको हो । शवको पहिचान खुल्न बाँकी रहेको अछाम प्रहरीले जानकारी दिएको छ ।
शरिरमा लुगा नभएपनि साथमा माछा मार्ने जालको डोरी साथमा रहेको करिब ५ फिट उमेरको व्यक्तिको शव फेला परेको उक्त वडाका अध्यक्ष पदम बहादुर बिसीले जानकारी दिनुभयो । शरिरमा लुगा नभएको अवस्थामा शव फेला परेको खबरप्राप्त लगत्तै तुर्माखाँद प्रहरी चौकीबाट प्रहरी टोली खटिएको बताइएको छ ।
घटनाका बारेमा थप अनुसन्धान गर्नका लागि इलाका प्रहरी कार्यालय कमलबजारबाट प्रहरी निरीक्षक हर्ष बहादुर चन्दको नेतृत्वमा अर्को टोली गएको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक इश्वरी प्रसाद भण्डारीले जानकारी दिनुभयो ।