सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त

धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ।  साउन २० गते दोस्रो पटक मुख्यमन्त्री नियुक्त हुनुभएका उहाँले बुधबार सदनबाट विश्वासको मत पाउनुभएको हो।

विश्वासको मतका लागि मुख्यमन्त्रीले राखेको प्रस्तावको पक्षमा ३६, विपक्षमा आठ मत परेको छ। त्यस्तै एक मत तटस्थमा परेको छ। ५३ जना प्रदेश सभा सदस्य रहेकोमा ४५ जनाले मात्रै मतदानमा भाग लिनुभएको थियो। तत्कालीन मुख्यमन्त्री दीर्घबहादुर सोडारीले बहुमत जुटाउन नसकेर पदबाट राजीनामा दिएपछि संविधानको धारा १६८ को उपधारा (२) बमोजिम शाह मुख्यमन्त्री नियुक्त हुनुभएको थियो। यसरी नियुक्त भएका मुख्यमन्त्रीले एक महिनाभित्रै विश्वासको मत लिनुपर्ने कानुनी प्रावधान रहेको छ। 

५३ जना प्रदेश सभा सदस्य रहेका सुदूरपश्चिम प्रदेशमा बहुमत जुटाउनको लागि २७ जनाको समर्थन आवश्यक पर्ने गर्दछ। मुख्यमन्त्री शाहले सत्तारुढ दल कांग्रेसको १८, नेकपा (एमाले) को ११ र नागरिक उन्मुक्ति पार्टीको सात गरी ३६ जनाका विश्वासको मत पाउनुभयो। कांग्रेसका शाह एमाले र नागरिक उन्मुक्तिको समर्थनमा दोस्रो पटक प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो। 

Mangalsen Ward
सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page