एसईई पुरक परीक्षा आजबाटः अंग्रेजी विषयमा १ हजार ७९६ जना सहभागी हुँदै
अछाम । एसईई पुरक परीक्षा आज २३ गते दिउँसोबाट सञ्चालन हुँदैछ । पुरक परीक्षाका लागि फाराम भरेका व्यक्तिले आज दिउँसो ११ बजेबाट सम्बन्धित परीक्षा केन्द्रमा गएर अनिवार्य अंग्रेजी विषयको परीक्षा दिने छन् । अनिवार्य अंग्रेजी विषयको परीक्षामा अछाममा १ हजार ७९६ जनाले परीक्षा दिने भएका छन् । जिल्लामा पुरक परीक्षाका लागि तोकिएका आठ परीक्षा केन्द्रहरुबाट उनीहरुले परीक्षा दिने छन् ।
अनिवार्य अंग्रेजी विषयको परीक्षामा जाल्पादेवी मावि ढाँकुमा १८५ जना, विद्यामन्दिर मावि विनायक २५२, नेपाल राष्टिय मावि चाफामाण्डौं १५२ जनाले परीक्षा दिने भएका छन् । यस्तै कालिकेश्वरी मावि तुर्माखाँद परीक्षा केन्द्रबाट २१९, राधा मावि बोगटीगाउँ परीक्षा केन्द्रमा १३७ जनाले अंग्रेजी विषयको परीक्षा दिने छन् । यस्तै षोडशा मावि मंगलसेनमा १९९ जना, जनकल्याण मावि साँफेबगर ३२४ जना, सुर्यचन्द्र मावि कालिकाटी परीक्षा केन्द्रबाट २९८ जना परीक्षामा सहभागी हुने छन् ।
परीक्षाको सम्पूर्ण तयारी पूरा भएको शिक्षा विकास तथा समन्वय इकाइ अछामका सूचना अधिकारी तथा परीक्षा शाखा प्रमुख सुरेन्द्र बजगाईले जानकारी दिनुभयो । आठवटै केन्द्रमा आवश्यक सामग्री पुर्याउने, केन्द्राध्यक्ष तोकेर प्रशिक्षण गर्ने लगायतका काम भइसकेका बताइएको छ ।
परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन यस पटक थप कडाई गरिएको सूचना प्रकाशित गरिएको छ । परीक्षामा अनुमति बाहेकका सामग्री फेला परेमा परीक्षा रद्ध गर्ने र कानुनी कार्वाही गर्ने बताइएको छ ।