रामारोशनमा करार कर्मचारी विवादः निर्णयमै जुहारी
अछाम । करारका कर्मचारी र शिक्षकको खाइपाइ आएको तलब घटाएको भन्दै रामाारोशन गाउँपालिकाका कर्मचारीहरु अहिले आन्दोलनमा छन् । अत्यावश्यक बाहेकका सबै काम ठप्प पारेर उनीहरु आफ्नो सेवा, सुविधाका लागि आन्दोलनका क्रममा छन् ।
गाउँकार्यपालिकाले निर्णय नै गरेर आफुहरुको खाइपाइ आएको तलब घटाएको भन्दै एकसय भन्दा बढी करार कर्मचारीहरु आफ्नो पुरानै तलबमान कायम गर्न भनिरहेका छन् । आफुहरुले तलब घटाएको निर्णयको विरुद्धमा करार कर्मचारीहरु छन् भने करार शिक्षकहरुले पनि समर्थन गरिरहेका बताइएको छ ।
तर कर्मचारीको तलब घटाएका सम्बन्धमा आफूहरुले कुनै निर्णय नगरेको दाबी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको अडान रहेको छ । गाउँपालिकाका अध्यक्ष मानबहादुर साउँदले आज एक विज्ञप्ति प्रकाशित गरेर उहाँले कर्मचारीको तलब घटनाउने कुनै लिखित निर्णय नभएको उल्लेख गर्नुभएको छ । ‘आवश्यक छलफल र बहस नपुगेका कारण गाउँकार्यपालिका र गाउँसभा स्थगित छ ।’ विज्ञप्तिमा भनिएको छ । गाउँपालिकामा तालाबन्दी र सामाजिक सञ्जालमा नकारात्मक सन्देश फैलाएको भन्दै कर्मचारीले अनुशासनको उलंघन भएको भनिएको छ । ‘…….हुँदै नभएको निर्णय सार्वजनिक गरिनु कार्यालय प्रशासनको आन्तरिक गोपनियता भंग गरी अनुशासन हिन र गैरजिम्मेवारी कार्य हो ।’ विज्ञप्तिमा भनिएको छ ।
उता गाउँपालिका उपाध्यक्ष सृजना बुढाले पनि आफ्नो फेसबुकमा कर्मचारीको तलब घटाउने बारेमा निर्णय पारित नभएको भन्दै लामो स्टाटस लेख्नुभएको छ । ‘निर्णय पास भएको छैन, हामी छलफलमै थियौं …….।’ फेसबुक स्टाटसमा छ । उपाध्यक्ष बुढाले आरोप लाउने र अपमान गर्ने भन्दै सरकारले विनियोजन गरेको बजेटबाट सुविधा पाइरहेका कर्मचारीहरुले सरकारलाई नै आरोप लगाएर बेइज्जत गरेको विषय गम्भीर भएको उल्लेख गर्नुभएको छ । अब सरकारले आफ्नो विवेकमा पूर्ण अधिकार प्रयोग गर्ने फेसबुक स्टाटसमा उल्लेख छ ।
तर आन्दोलनरत करारका कर्मचारीहरुले भने गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षसहित १६ जना कार्यपालिकाका सदस्यको उपस्थिति भएको निर्णयको प्रतिलिपि सार्वजनिक गरेका छन् । २०८० असार ८ गतेको कार्यपालिकाको बैठकले करारका कर्मचारी र शिक्षकहरुको स्तरअनुसारको तलबमानमा निर्णय गरेको प्रतिलिपि पत्र फेसबुकमा सार्वजनिक गरिएको छ । आन्दोलनरत पक्षका संयोजक हिरण्डकुमार भण्डारीले फेसबुकमा सार्वजनिक गरिएको निर्णय प्रतिलिपिमा कार्यालय सहयोगीलाई छहजार पाँचसय, प्रावि शिक्षक÷चौथो तह कर्मचारी र ड्राइभरलाई २१ हजार, निमावि शिक्षक÷पाँचौ तहको कर्मचारीले २२ हजार, मावि शिक्षक र अधिकृतस्तरको कर्मचारीलाई २८ हजार आधारभूत तलब दिने निर्णय गरिएको पाइएको छ । यस्तै कृषि तथा पशु प्राविधिकलाई २१ हजार र विद्यालय कर्मचारी, लेखापाल, बालविकास शिक्षक, कार्यालय सहयोगीलाई २÷२ हजार थप्ने निर्णय भएको पाइएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतले आफ्नो फेसबुकमा कार्यपालिका बैठकको निर्णय प्रतिलिपि समेत सार्वजनिक गर्नुभएको छ । भण्डारीले गाउँकार्यपालिकामा तलब समायोजनका सम्बन्धमा निष्कर्शमा पुगेर मात्रै बजेट विनियोजनका अन्य प्रस्तावमा प्रवेश गरेको लेख्नुभएको छ । यस्तै निर्णयमा पढेर र सुनेर सबैको हस्ताक्षर भएको उल्लेख गर्नुभएको छ । यस्तै कर्मचारी हटाउने वा तलब घटाउने बिषयमा एकीन नभई शाखागत र वडागत बजेट निर्माण कसरी सम्भव भयो ? भनेर उहाँले प्रश्न गर्नुभएको छ । कार्यपालिका बैठकको हस्ताक्षर नक्कली कि सक्कली हो ? यसमा सम्पूर्ण वडाध्यक्ष र कार्यपालिका सदस्य ज्यूहरुलाई अनुरोध गर्दछु भनेर लेख्नुभएको छ ।
यता निर्णयको प्रतिलपि सार्वजनिक भएपछि अध्यक्ष र उपाध्यक्षले गलत बोलेको भन्दै केहीले आलोचना समेत गरेका छन् । करारका कर्मचारीहरुलाई खाइपाइ आएको तलबमान कायम गर्नका लागि पनि केही व्यक्तिहरुको धारणा सार्वजनिक गरेका छन् । कर्मचारीको समस्यालाइ समाधान गर्ने गरेर सबै पक्षले उचित छलफलको माध्यमबाट निकास निकाल्न पर्ने देखिन्छ ।