साढे दुई महिनामै अछामका सीडीओको सरूवा

मंगलसेन । अछामका प्रमुख जिल्ला अधिकारी (सीडीओ) शिवराम न्यौपानेको साढे दुई महिनामै सरुवा भएको छ । सहसचिव न्यौपानेको दुई महिना १४ दिनको अछाम बसाइपछि गृह मन्त्रालय सरुवा भएको हो । न्यौपाने २०८० को जेठ ७ गते प्रमुख जिल्ला अधिकारीको रुपमा अछाममा हाजिर हुनुभएको थियो ।
गृह मन्त्रालयले अछामको नयाँ प्रमुख जिल्ला अधिकारीमा शरदकुमार पोखरेललाई जिम्मेवारी तोकेको छ । पोखरेल हाल जिल्ला प्रशासन कार्यालय मोरङमा सहायक प्रमुख जिल्ला अधिकारीमा कार्यरत हुनुहुन्छ । सहसचिवको दरबन्दी कायम भएपछि २०७६ मा सहसचिव पुण्यविक्रम पौडेल र न्यौपाने मात्र अछाममा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पाउनुभएको थियो ।
यसअघिका प्रमुख जिल्ला अधिकारी उपसचिव लक्ष्मण ढकाल पनि तीन महिना २० दिन अछामबाट सरुवा भएको थियो । भने त्यसअघिका उपसचिव रामदत्त पाण्डेपनि चार महिना दुई दिन अछामको प्रजिअको पद सम्हाल्न पाउनुभएको थियो । अछाममा प्रमुख जिल्ला अधिकारीको कार्यकाल एक वर्ष नबित्दै सरुवा हुन थालेको छ ।